जनता टाइम्स

२४ चैत्र २०७८, बिहीबार १७:४१

सोलुखुम्बुका आठ स्थानीय तह : को–को छन् एमालेमा गाउँपालिका अध्यक्षका दावेदार ?


सोलुखुम्बु, २४ चैत । आगामी बैशाख ३० गतेका लागि घोषित स्थानीय तह निर्बाचनका लागि जिल्लामा नेकपा माओवादी केन्द्रले एउटा स्थानीय तहबाहेक अन्यत्र कुनै पनि दलले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । नेकपा माओवादी केन्द्रले जिल्लाको सोताङ गाउँपालिका अध्यक्षमा दीपक खड्कालाई औपचारिक रुपमैं उम्मेदवार घोषणा गरेको थियो ।

उता नेपाली कांग्रेसले पनि सोलुदुधकुण्ड नगरपालिकाका केहि र माप्यदुधकोशी र नेचासल्यानका एक-एक वडामा वडाध्यक्ष्यमा सर्बसम्मत उम्मेदवार चयन गरिएको जनाएका छन् । तर यतिबेलासम्म जिल्लामा नेकपा एमालेले औपचारिक रुपमा कतै पनि उम्मेदवार घोषणा गरेको छैन । जिल्लाका आठवटा स्थानीय तहमध्ये तीन वटा गाउँपालिकामा एमालेले उम्मेदवार छनौट गर्ने सम्भावना रहेको छ ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले नेचासल्यानमा दोहोरिन चाहेको खण्डमा उनलाई बाटो सहज छ, कसैले पनि दावेदारी गर्ने सम्भावना छैन । तर अहिलेसम्म बास्तोला प्रदेश राजनीतिका लागि पाईला अघि बढाउने तर नेचासल्यान गाउँपालिकामा दोहोरिने मनस्थितिमा छैनन् । एकपटकका लागि अघिल्लो कार्यकालका बाँकी काम पूरा गर्नका लागि पनि अध्यक्षमा बाँस्तोला नै दोहोरिनुपर्ने मत पार्टीमा जवर्जस्त छ ।

यति हुँदाहुँदै पनि गाउँपालिका अध्यक्षमा उहाँ दोहोरिन चाहेनन् भने चारजनाको दावेदारी रहने सम्भावना रहेको एमाले श्रोतको भनाई छ।जिल्ला समन्वय समिति सदस्य समेत रहेका जिल्ला कमिटी सचिवालय सदस्य रामकाजी राई,वडा नं–३ का वडाध्यक्षसमेत रहेका नेचासल्यान गाउँपालिका इन्चार्ज धर्मध्वज खत्री, गाउँपालिका संगठन कमिटीका अध्यक्ष जगन्नाथ बास्तोला र जिल्ला कमिटी सदस्य एवं प्रचार बिभाग प्रमुख मुक्ति बाँस्तोला नेचासल्यान अध्यक्षका दावेदार हुनुहुन्छ ।

उता खुम्बु पासाङल्हामूमा जिल्ला कमिटी उपसचिवसमेत रहेका पालिका इन्चार्ज मिङ्माछिरि शेर्पा र गाउँपालिका कमिटी अध्यक्ष लाक्पाग्याल्जेन शेर्पामध्ये एकजना सर्बसम्मत हुने सम्भावना छ । जिल्ला कमिटी सदस्यसमेत रहेका ३ नं वडाध्यक्ष टेकबहादुर राई र प्रदेश निर्बाचन क्षेत्र क का संयोजक नरेन्द्र कुलुङको समेत दावेदारी रहे पनि महाकुलुङ अध्यक्षका लागि जिल्ला कमिटी सदस्य भक्त कुलुङ सर्बसम्मत हुनसक्ने आंकलन गरिएको छ । उता, सोलु दुधकुण्ड नगरपालिका र सोताङ गाउँपालिकामा आकांक्षीहरु झन्डै आधा दर्जन छन् ।

नगरपालिकामा हालकी उपमेयर कल्पना राईसहित प्रदेश कमिटी सदस्य बच्चुनारारायण श्रेष्ठ,जिल्ला कमिटी लेखा आयोगका अध्यक्ष रामकाजी श्रेष्ठ, पार्टीका नगर कमिटी अध्यक्ष मिङमार छिरी शेर्पा र जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ मेयरका दावेदार हुन भने सोताङ गाउँपालिकामा हालका अध्यक्ष बीरबहादुर राई र उपाध्यक्ष लक्ष्मी कार्की बस्नेत, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष हर्कबहादुर राई,जिल्ला सचिवालय सदस्य प्रकाश कार्की र ०५४ सालका निर्बाचित तत्कालीन सोताङ गाबिस अध्यक्ष अम्मीरकाजी बस्नेत अध्यक्षका प्रबल दावेदार रहेको एमालेले जनाएको छ ।

त्यसैगरी,माप्यदुधकोशी गाउँपालिकामा पनि बर्तमान अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनिता माया मगर दुबै जनाको अध्यक्षमा दावेदारी छ । उहाँहरूबाहेक पार्टी जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ र गाउँपालिका कमिटी इन्चार्ज नारायणकाजी कार्की पनि अध्यक्षका प्रबल दावेदार हुन् ।

लिकुपिकेमा प्रदेश कमिटी सदस्य पोष्टकुमार कार्की र गाउँपालिका कमिटी अध्यक्षसमेत रहेका वडा नं ४ का वडाध्यक्ष हिक्मत बस्नेतमध्ये एकजना गाउँपालिका अध्यक्षका उम्मेदवार हुनुहुन्छ भने थुलुङ दुधकोशीमा गाउँपालिका इन्चार्ज श्यामकुमार राई, गाउँपालिका कमिटी अध्यक्ष उदयनारायण बस्नेत,जिल्ला कमिटी सदस्यद्वय आङबाबु राई र नन्दु गुरुङ तथा भरखरैमात्र नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका गाउँपालिका वडा नं–९ का वडाध्यक्ष भुपालसिं राई अध्यक्षका दावेदार हुनुहुन्छ । उहाँहरुमध्ये आङबाबु सर्बसम्मत अध्यक्ष उम्मेदवार बन्न सक्ने सम्भावना रहेको कतिपयको दावी छ ।