जनता टाइम्स

८ भाद्र २०८३, सोमबार १७:२५

चोरीको स्कुटरबाट राइड सेयरिङ, कर्यापझ्याप पार्दै पुलिसले गर्यो प्रधानमन्त्रीका मतदातालाई केयरिङ


काठमाडौं, भदौ ८ । चोरीको स्कुटर प्रयोग गरेर राइड सेयरिङ गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ बर्षीय सरोज खनाल रहेका छन ।

चोरीको स्कुटरसहित पक्राउ परेका खनाल प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) निर्वाचित हुनुभएको झापाको क्षेत्र नम्बर ५ स्थित दमक नगरपालिका–७ निवासी हुन । आरोपीलाई नम्बर परिवर्तन गरिएको स्कुटर सहित पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार नक्सालबाट भक्तपुर जाने क्रममा यात्रुले ल्यापटप ब्याग स्कुटरमै बिर्सेपछि चालकलाई सम्पर्क गर्न खोजेका थिए । तर, चालक सम्पर्क विहीन भएपछि यात्रुले खोजतलासका लागि ट्राफिक प्रहरीलाई सम्पर्क गरेका थिए । उजुरीपछि खोजतलास गर्दा आरोपीलाई चोरीको सवारीसहित पक्राउ गरिएको हो।

प्रहरीका अनुसार चोरीको स्कुटर र अन्य व्यक्तिको सेयरिङ एप प्रयोग गरेर काम गर्दै आएका खनाल नयाँ बसपार्क स्थित होटलमा बस्ने गरेका थिए । आरोपीले राइड सेयरिङमा प्रयोग गरेको स्कुटर २०८३ असार २३ मा काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुबाट चोरी भएको खुलेको छ ।

केही दिनअघि ट्राफिक प्रहरीले बरामद गरेको अर्को स्कुटरमा निज सरोज खनालको नागरिकता पनि भेटिएको उपत्यका ट्राफिकका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले बताउनु भयो । सो घटनापछि आरोपीको बिषयमा थप अनुसन्धान र कारबाहीका लागि ट्राफिक प्रहरीले प्रहरी वृत्त महाराजगञ्जमा पठाएको छ ।