जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार १८:५४

अपराधको जडमै शल्यक्रियातिर एसपी वसुन्धराको ध्यान : अनलाइन सट्टेबाजीविरुद्ध चालिन कडा एक्सन


झापा, भदौ २७ । झापामा प्रतिबन्धित अनलाइन सट्टेबाजी तथा जुवाको कारोबारविरुद्ध प्रहरीले नयाँ शैलीमा अनुसन्धानसहित कारबाही तीव्र पारेको छ । झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खडकाले बिशेष योजनासहित अनुसन्धानमै नयाँ शैली अपनाएपछि धमाधम अपराधकर्ममा संलग्नहरू समातिन थालेका हुन ।

यही क्रममा बिर्तामोडमा केही महिनाको अन्तरालमै फरक–फरक स्थानबाट सट्टेबाजीमा संलग्न रहेको आरोपमा हैसियतवाला व्यक्तिहरू पक्राउ पर्न थालेपछि जिल्लामा सञ्चालन भइरहेको भनिएको अनलाइन जुवाको सञ्जालमाथि प्रहरीको अनुसन्धान केन्द्रित भएको छ ।

पछिल्लो पटक बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरबाट तीन युवा पक्राउ परेका छन् । अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनीहरूलाई बुधबार बिहान करिब ९ः३० बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिर्तामोड–४ का ४१ वर्षीय किरण कन्दङवा, सोही ठाउँका ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाईं छन् । उनीहरूलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग भएको आशंका गरिएका विभिन्न विद्युतीय उपकरण फेला परेका छन् । प्रारम्भिक अनुसन्धानमा उनीहरू लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेल खेलाउने गतिविधिमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक (इन्सपेक्टर) मुन्नाकुमार अधिकारीका अनुसार विशेष सूचनाका आधारमा निगरानी बढाएर उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले बरामद भएका विद्युतीय उपकरण, तिनको प्रयोगको अवस्था, अनलाइन कारोबार र सम्भावित आर्थिक कारोबारबारे अनुसन्धान गरिरहेको छ ।

तीन महिनामा फेरि अर्को समूह

पछिल्लो पक्राउलाई झापा प्रहरीले केही महिनाअघि बिर्तामोडबाटै गरेको सर्च अपरेशनको निरन्तरताका रूपमा हेरिएको छ। गत वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले मेचीनगर–१० का २७ वर्षीय गंगा गिरी र बिर्तामोड–६ का ३६ वर्षीय भुवन मेचेलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको थियो।

गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट पक्राउ गरिएको थियो । उनीहरूमाथि प्रारम्भमा अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान भएको थियो । पछि अनुसन्धानको दायरा विस्तार गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत जोडिएको थियो ।

अनुसन्धानका क्रममा उनीहरूका बैंक खाताबाट ठूलो रकमको कारोबार भएको तथ्य खुलेको थियो । सार्वजनिक भएको अनुसन्धान विवरणअनुसार भुवन मेचेको खाताबाट साढे २३ करोड रुपैयाँ र गिरीको खाताबाट करिब १२ करोड रुपैयाँ कारोबार भएको देखिएको थियो । दुवैको खाताबाट गरी ३५ करोड रुपैयाँभन्दा बढी कारोबार भएको विवरण सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार गिरीको हकमा अनलाइन जुवा तथा सट्टेबाजीबाट आर्जन गरेको आरोपमा ९४ लाख १८ हजार ८७४ रुपैयाँ बराबरको बिगो कायम गरिएको थियो । झापा जिल्ला अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने भुवन मेचे पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

यस घटनाले झापामा अनलाइन सट्टेबाजी केवल मोबाइल वा कम्प्युटरबाट खेलिने जुवाको विषय मात्र नभई ठूलो रकमको आर्थिक कारोबारसँग जोडिएको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

आर्थिक कारोबारसम्म अनुसन्धान

अनलाइन सट्टेबाजीसम्बन्धी अनुसन्धानमा प्रहरीले प्रयोग भएका मोबाइल, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणसँगै बैंक खाता र रकमको स्रोतसमेत हेर्न थालेको देखिन्छ। वैशाखमा पक्राउ परेका दुई जनाको अनुसन्धान सम्पत्ति शुद्धीकरणसम्म पुगेपछि प्रहरीले सट्टेबाजीको आर्थिक पाटोलाई समेत प्राथमिकतामा राखेको छ ।

यसअघि पनि झापाबाट अनलाइन सट्टेबाजीसम्बन्धी घटना सार्वजनिक हुँदै आएका छन्। २०८० असोजमा दमक–१२ का पिन्टुकुमार साहलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि विभिन्न अनलाइन बेटिङ एप तथा वेबसाइटमार्फत २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको आरोप लागेको थियो।

त्यसअघि २०७९ सालमै दमकका विभिन्न स्थानमा नेपालमा प्रतिबन्धित वनएक्स बेट एपमार्फत पैसाको हारजित हुने गरी सट्टेबाजी खेल्ने–खेलाउने आरोपमा चार जना पक्राउ परेका थिए ।

यसले झापामा अनलाइन सट्टेबाजीको गतिविधि नयाँ विषय नभएको देखाउँछ । तर पछिल्लो समय प्रहरीले घटनालाई व्यक्ति पक्राउमा सीमित नराखी त्यसको सञ्जाल, आर्थिक कारोबार र स्रोतसम्म पुग्ने गरी अनुसन्धान अघि बढाउन थालेको देखिन्छ।

बिर्तामोडमा क्याफे र सार्वजनिक स्थान प्रहरीको निगरानीमा

पछिल्ला घटनामा एउटा समानता देखिन्छ–सट्टेबाजीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरू क्याफे तथा सार्वजनिक रूपमा सञ्चालन हुने व्यवसायिक स्थानबाट नियन्त्रणमा परेका छन्।

वैशाखमा गिरी र भुवन मेचे क्रमशः गो ६९ क्याफे र रेड हट चिल्लीबाट पक्राउ परेका थिए। पछिल्लो पटक किरण कन्दङवा, हेक्की श्रेष्ठ र उज्जवल गुरागाईं पनि वृक्ष क्याफे परिसरबाट पक्राउ परेका छन्।

यसले प्रहरीले सूचना संकलन, निगरानी र लक्षित कारबाहीको रणनीति अपनाइरहेको संकेत गर्छ। यद्यपि पक्राउ परेका व्यक्तिहरू नै एउटै सञ्जालमा आबद्ध छन् वा छुट्टाछुट्टै समूह हुन् भन्ने विषय पछिल्लो अनुसन्धानबाट खुल्नेछ।

प्राथमिकता अपराध अनुसन्धान

झापा प्रहरीको नेतृत्व अहिले प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले गरिरहनुभएको छ । २०८२ माघमा झापा प्रहरी प्रमुखका रूपमा खड्काको सरुवा भएको थियो । निर्वाचन सुरक्षादेखि अपराध नियन्त्रणसम्मका विषयमा उनले जिल्लामा विशेष टोली परिचालन गर्दै आउनु भएको छ ।

खड्काको नेतृत्वमा प्रहरीले लागूऔषध, सीमापार अपराध, तस्करीलगायतका विषयमा पनि सूचना आधारित कारबाहीलाई प्राथमिकता दिएको देखिन्छ ।

अब सञ्जालतर्फ नजर

बिर्तामोडमा पटक–पटक अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा व्यक्ति पक्राउ पर्नुले प्रहरीले अब केवल खेल खेल्ने व्यक्तिलाई होइन, खेल खेलाउने, रकम व्यवस्थापन गर्ने र त्यसका लागि प्राविधिक तथा आर्थिक माध्यम उपलब्ध गराउने व्यक्तिसम्म अनुसन्धान विस्तार गर्नुपर्ने देखिन्छ ।

विशेषगरी वैशाखमा पक्राउ परेका दुई व्यक्तिको बैंक खाताबाट ३५ करोड रुपैयाँभन्दा बढी कारोबार भएको तथ्य बाहिरिएपछि झापामा अनलाइन सट्टेबाजीको आर्थिक आकारबारे गम्भीर प्रश्न उठेको छ।

पछिल्लो पटक पक्राउ परेका तीन जनाको हकमा पनि प्रहरीले विद्युतीय उपकरण र उनीहरूको विगतको गतिविधिमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।