काठमाडौं, २५ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै पुर्वाधार, विद्यार्थी र शिक्षक तयार हुँदा पनि एउटा व्यक्तिले नखाई बस्दिन्छु भनेपछि सरकार डराएर त्यस्ता शिक्षण संस्थाहरूलाई अनुमति दिन नसक्ने अवस्था उत्पन्न भइरहेको बताउनुभयो । उहाँले अस्पताल खोल्ने र डाक्टर तथा इन्जिनियर पढाउने कलेज खोल्ने भन्नासाथ सरकारलाई थर्काउने गिरोह बलशाली बनिरहेको टिप्पणी गर्नुभएको छ ।

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशमा डाक्टर र इन्जिनियर पढ्ने विद्यार्थी पठाउने व्यापारिक गिरोहले क्याम्पियन चलाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? उसले सुत्दिम त ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर ।’

‘एक थरी जो विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन्,’ उहाँले भन्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले नेपालमा मेडिकल कलेज खुल्दा विद्यार्थी बाहिर पठाउने कारोबारमा नोक्सान पर्ने भएपछि केही व्यक्तिलाई उकासेर अनसनका नाममा सुताउने गरिएको सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्