पर्वत, चैत २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्ड र माधव नेपाल आफन्त पोस्ने, जनताको अधिकार खोस्ने अभियानमा लागेको भन्दै एकएक अपराधको पोल खोलिदिनु भएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा नेकपा एमाले पर्वतले आज आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष ओलीले यस्तो तथ्य राख्नुभएको हो ।
‘कांग्रेसको पछि लागेर व्यक्तिगत स्वर्थमा लिप्त कम्युनिस्टको बर्को ओढेकाहरु (प्रचण्ड–माधव समुह) ले कतैबाट नसकेपछि अदालत गएर परमादेशबाट आफ्नै सरकार ढाले,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले गभर्नर आफ्नो मान्छे नभएकोले निलम्बन गरे । आफ्नै भाइलाई राष्ट्रिय सभाको सदस्य बनाए । सम्धीका साडुलाई मन्त्री बनाए । आफन्तलाई राजदूत बनाएर पठाएका छन् । आफन्त पोस्ने जनताको अधिकार खोस्ने । यीनीहरुको काम त्यही हो । त्यसकै लागि गठबन्धनको सरकार बनाएका हुन ।’
उहाँले आफ्नो पार्टीले देशको विकास गरेको देखेर अत्तालिएकाहरुलाई अबको निर्वाचनमा फेरि एकल दुईतिहाइ बहुमत ल्याएर देखाइदिने उदघोष पनि गर्नुभयो । अध्यक्ष ओलीले त्यसका लागि पहिले आगामी स्थानीय तहको चुनाव जितेर देखाउने बताउनु भयो । विकासको पहिलो लहर ल्याउने स्थानीय सरकार नै भएकाले पहिला स्थानीय सरकारमा एमालेलाई जिताउन पनि उहाँले मतदातालाई आग्रह गर्नुभयो । ‘जनताको लहर यसरी आएको छ । पाँच दलीय गठबन्धनका टुक्राहरु । चोइटाहरु यताउता ओल्तिर पल्तिर उथलपुथल हुनेछन,’ ओलीले भन्नुभयो ।
यसअघि अरिंगालको कुरा गर्दा आफ्नो आलोचना भएको प्रसंग निकाल्दै अध्यक्ष ओलीले चुनावका बेला अरिंगाल के हो भन्ने थाहा हुने बताउनु भयो । ‘मैले केही समयअघि नेकपा एमालेलाई टोक्न नखोज । अरिंगाले त गोलो चलायो भने टोक्छ भने एमालेलाई चलायो भने त्यसको दुर्गति हुन्छ भनेको थिएँ । निकै अरिंगालको कुरा गरे । अब थाहा हुन्छ अरिंगाल भनेको के हो । चुनावका बेला थाहा हुन्छ,’ ओलीले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गर्दा भएको विकास देखेर अत्तालिएकाहरुले कतैबाट नसकेपछि अदालत गएर परमादेशको भरमा सरकार ढालेका कारण विकास ठप्प भएको तथ्य पनि राख्नुभयो । उहाँले आफ्नै पहलमा जनकपुरमा रेल आएको र केरुङ–काठमाडौं रेलका लागि पनि सर्भे गरिसकेको जानकारी पनि दिनुभयो । ०७४ कात्तिक ३० गते संसदीय निर्वाचनका बेला कुश्मामा सम्बोधन गर्दा ओलीले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा, पोखरा–बेनी रेल ल्याउने र कुश्मामा रेल स्टेसन बनाउने घोषणा गर्नुभएको थियो ।
आफूले उतिबेला बोलेका कुरा अहिले पनि स्मरण गरिरहेको भन्दै उहाँले आफ्नो पालामा रेल ल्याउने काम धमाधम भइरहेको तथ्य राख्नुभयो । ‘मैले पाँच वर्षअघि यहीं उभिएर भनेको कुरा हिजो एकजना पत्रकारले सोध्नुभयो । खोइ रेल भनेर ? केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र मध्य नेपालमा रेल ल्याउनका लागि सर्भे गरेका छौं । रेल ल्याउने कुरा एकदुई दिनमा हुने हो र ? धागो तानेजस्तो हो रेल ल्याउने कुरा ? देख्नु भएन जनकपुरमा रेल ?’ ओलीले भन्नुभयो ।
यस्तै ओलीले आफ्नो पालामा छोटो समयमै भूकम्पले भत्किएका संरचना बनाएको, देशभर सात लाख घरहरु बनाएको, देशभरका तुईन बिस्थापित गरेको तथ्य पनि राख्नुभयो । आफूले गरेका विकास देखिसहन नसकेर व्यक्तिगत स्वार्थमा लिप्त कम्युनिस्टको बर्को ओढेकाहरुले सरकार ढालेको भन्दै फेरि एमालेको जिजय अनिवार्य रहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्