काठमाडौं, चैत २७ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधव नेपाल समुहले चुनावमा एमालेको पक्षमा रहेको जनमत बिभाजन गर्ने हैसियत नराख्ने तथ्य राख्नुभएको छ । महासचिव पोखरेलले आगामी तीनै तहको निर्वाचनमा एमालेबाट अलग भएको माधव समुहले एमालेलाई पुर्याउने असर नगन्य रहेको तथ्यांक पनि राख्नुभएको छ ।
‘माधव नेपाल समुहले एमालेको जनमत बिभाजित गर्ने हैसियत नै राख्दैन, त्यो समुहले पुर्याउने असर नगन्य हुज्छ,’ नेकपा एमाले केन्द्रीय प्रचार बिभागले आज आयोजना गरेको स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षणमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो । उहाँले माधव समुहले अधिकतम असर ४÷५ लाख मत गर्न सक्ने देखिएको र सो मत माओवादी केन्द्रबाट पुर्ति भइसकेको र अन्इ पार्टीबाट प्रवेशको मत थप शक्तिका रुपमा रहेको बताउनु भयो ।

एमाले महासचिव पोखरेलले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई एमालेमा ल्याउने वा सहकार्य गर्ने गल्ती नहुने पनि प्रष्ट पार्नुभयो । नेपाली कांग्रेसको नीति र शेरबहादुर देउवाको नेतृत्वलाई स्वीकार गरेर माधव–प्रचण्ड हिडेकोले एमालेले सहकार्य वा पार्टीमा स्वीकार गर्ने काम संभव नरहेको पोखरेलको भनाई छ । ‘प्रचण्ड र माधवलाई पार्टीमा फिर्ता ल्याउने होइन, शेरबहादुर देउवातिरै धकेल्ने हो, उतै जान दिनुपर्छ, माधव र प्रचण्डको भ्रममा परेर त्यता लागेका अन्य नेता कार्यकर्तालाई भने पार्टीमा स्वागत गर्नुपर्छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको पनि बताउनु भयो । महासचिव पोखरेलले त्यस्तो शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने तथ्य पनि राख्नुभयो । कार्यक्रममा महासचिव पोखरेलले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्नसमेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाले एमाले बहुमतसहितको पहिलो शक्ति हुने बताउनु भयो ।

उहाँले गठबन्धनमा जाँदाको परिणाम राष्ट्रिय जनमोर्चा बिघटनको संघारमा पुगेको बताउनु भयो । ‘राष्ट्रिय जनमोर्चा आज लगभग बिघटनको संघारमा पुगेको छ, लुम्बिनी र गण्डकी बलियो आधार क्षेत्र मानिन्छ त्यो पार्टीका, तर आज दुवै प्रदेशमा राजमोको ठूलो हिस्सा एमाले बनिसकेको छ, बन्न्े क्रम जारी छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको स्पप्नद्रष्टाका रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाएको बाटोमा मुलुकलाई लान एमालेले विजय हासिल गर्नुपर्ने बताउनु भयो । उहाँले एमाले सत्य र न्यायको पक्षमा रहेकोले पाच दलीय गठबन्धनलाई पराजीत गरी मुलुक निर्माणको अभियान पुनः थाल्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले स्थानीय तहको निर्वाचनमा झुटलाई परास्त गरी जस्ताकै तस्तै सूचना सम्प्रेषण गर्दा पनि एमालेको बिजयलाई कसैले राक्न नसक्ने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्