काठमाडौं, चैत ३० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाउनु भएको छ ।
बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राख्नुभएको थियो । सरकारी तलब बुझ्ने घिसिङको तस्बिरलाई चुनावी प्रचार प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै जनस्तरमै आलोचना भएको थियो ।
कार्यकारी निर्देशक घिसिङले पनि आफूलाई नसोधी चुनावी पोस्टरमा आफ्नो तस्बिर राखिएकोमा आपत्ति जनाउँदै हटाउन प्रचण्डको निजी सचिवालयलाई निर्देशन दिएका थिए । ‘मलाई नसोधी चुनावी पोस्टरमा मेरो तस्बिर राखिएको रहेछ । यसमा मेरो विमति छ । मैले पोस्टर हटाउन भनेको छु,’ घिसिङले भन्न्ुभएको थियो ।
समाचार एजेन्सी न्यूज कारखानाका अनुसार प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निर्देशक घिसिङले पोस्टर हटाउन आग्रह गरेको स्वीकार गर्नुभएको छ । मल्लले भन्नुभयो, ‘अरु साथीले प्रचण्डको सामाजिक चलाउँदा गडबड गरेछन् ।’ त्यसको समयपछि प्रचण्डको फेसबुक पेजबाट घिसिङको तस्बिर अंकित चुनावी पोस्टर हटाइएको छ । तर, प्रचण्डकी छोरी गंगा दाहालको फेसबुक पेजमा भने सो पोस्टर कायमै छ ।
प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।













प्रतिक्रिया दिनुहोस्