जनता टाइम्स

१ बैशाख २०७९, बिहीबार १५:४४

एमालेप्रति ह्वात्तै बढ्यो जनआकर्षण, गठबन्धनमा भने जताततै त्रास


काठमाडौं, बैशाख १ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि दलहरु चुनावी मैदानमा होमिएका छन । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावी सभाका लागि जिल्ला दौडाहामा छन । समय नजिकिँदै जाँदा चुनावी सरगर्मी गाउँगाउँमा बढेको छ ।

अहिलेसम्मको अवस्था हेदौ खास चुनाव भने नेकपा एमालेलाई लागेको छ । यसपटक एमालेमा अभूतपूर्व जनलहर देखिएको छ । एमाले प्रवेश गर्नेको संख्या दिनहुँ बढिरहेको छ । अध्यक्ष केपी शर्मा ओली हरेक दिन पार्टीमा प्रवेश गराउनेदेखि जिल्लामा जनसभालाई सम्बोधन गर्न ब्यस्थ हुनुहुन्छ । एमाले जनसभामा जनउपस्थिति र पार्टी प्रवेश गठबन्धनका सबै दल मिल्दा भन्दा पनि कैयौं गुणा बढी देखिएको छ ।

स्थानीय तहको चुनाव नजिकिँदै जाँदा एमालेमा प्रवेश गर्नेहरुको लहर तीब्र रुपमा अघि बढिरहेको छ । एमालेमा दैनिक हजारौैंको संख्यामा विभिन्न पार्टीका जनप्रतिनिधि र नेताकार्यकर्ता प्रवेश गरिहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी प्रवेश गराउन भ्याइ–नभ्याइ छ आजभोलि । एमाले प्रवेश गर्छाैं भन्दै उहाँकै निवास बालकोटमा समेत ओइरो लागिरहेको छ । दोस्रो तहका नेतालाई पनि फुर्सद छैन । एमाले रोज्नेमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका नेता–कार्यकर्ता छन् ।

एमालेले पार्टी प्रवेशको अभियान नै थालेको छ । सय होइन, दैनिक हजारौंको संख्यामा विभिन्न पार्टीका नेता–कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन । देशैभर बृहत् जनसभा तथा पार्टी प्रवेशका कार्यक्रम भइरहेका छन् । हिमाल, पहाड तराई–मधेश जता हेर्यो त्यतै एमाले ।

एमाले अध्यक्ष ओली उपस्थित हुने जनसभामा जनसागरको त कुरै नगरौं । ऐतिहासिक र भव्य भइरहेका छन । सिंगो पहाड एमालेमा समाहित छ । सिंगो मधेश एमालेको समर्थनमा उर्लिएको छ । सिंगो हिमाल एमालेको साथी बनेको छ । एमालेप्रति बढ्दो जनआकर्षणले एमालेको विजयी यात्रा तय गरेको छ । धाँधलीरहित चुनाव भए एमालेले बहुमतसाथ जित्ने जनमतले प्रष्टै देखाएको छ ।

एमाले विरुद्ध एक ठाउँ उभिएको गठबन्धन एमालेमा देखिएको जनलहरबाट निकै त्रसित छ । एमाले प्रवेश गर्नेहरुको लहरले पाँच दलीय गठबन्धनमा भूकम्प गएको छ । एमालेको समर्थनमा उर्लिएको जनलहरले विरोधीहरुको मुटु हल्लाएको छ । सत्ता गठबन्धनमा जमानत जफत हुने त्रास छ । एमालेको पार्टी प्रवेश र जनसभामा देखिएको विशाल जनसागरले गठबन्धनको सातो उडाइदिएको छ । त्यसैकारण कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले पहिला भन्दा झनै बलियो रहेको र एमालेलाई एक्लै हराउनै नसकिने भन्दै माओवादी र समाजवादीलाई टेको बनाएर चुनावमा उभिन लाग्नुभएको छ ।

यसकारण बढ्यो एमालेमा जनआकर्षण

विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्छ भन्ने कुरा एमालेले पुष्टि गरिसकेको छ । राष्ट्रियताको सवालमा खरो उत्रिनसक्ने पार्टी एमाले नै हो भन्ने पनि उसले पुष्टि गरेको छ । देशको माटोको राष्ट्रियताको रक्षाका लागि सतिसालझैं उभिने केपी ओलीको नेतृत्व बुढा मात्र होइन युवा र नयाँ पुस्ताको रोजाइ बनेको छ ।

पाँच दल एकातिर र एमाले एकातिर हुँदा पनि एमाले नै बलियो देखिनु र एमालेप्रति आकर्षण बढ्नु एमालेका लागि राम्रो संकेत हो । एमाले आफ्नै शक्तिमा उभिन सक्षम छ भन्ने कुरा विगतका चुनावले पनि देखाइसकेको छ । प्रतिपक्षमा रहँदा पनि देशकै ठूलो र प्रमुख शक्ति रहेको एमालेमा सरकारमा छँदा गरेका कैयौं कामका कारण जनआकर्षण बढ्दो छ ।

देश र पार्टी सञ्चालनका सम्बन्धमा लिएको नीति तथा सरकारमा छँदा गरेका अभूतपूर्व कामकै कारण एमालेमा आकर्षण बढेको कुरालाई नर्कान सकिँदैन । एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा समाहित हुनेहरुको संख्या दिनप्रतिदिन बढ्नु एमाले मात्र होइन देशकै लागि राम्रो कुरा हो ।

एमालेले घोषणापत्र सार्वजनिक गरिसकेको छैन । लेखन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते एमालेले घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्र सार्वजनिक नभए पनि एमालेको मुख्य एजेण्डा देश बनाउने र विकास गर्ने हो । तर पाँच दलीय गठबन्धनको एजेण्डा एमालेलाई खुइल्याउने मात्र हो ।

जसले एमालेमै भविष्य देखे र भित्रिए
सर्वाेच्च अदालतले नेकपा एकता भंग गरिदिएपछि विभिन्न पार्टीका कैयौं नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । जसलाई संख्यामा गन्न सकिँदैन । एमालेको पार्टी सदस्यता संख्या पनि बढेको छ ।

बुधवार मात्रै एमाले अध्यक्ष सुनसरी पुगेर तीन ओटा गाउँपालिकाका हस्तीसहित दुई हजार बढीलाई एमालेमा स्वागत गर्नुभएको छ भने केही दिनअघि अध्यक्ष ओली बझाङ पुगेर विभिन्न पार्टीका हजारौं नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभयो । अध्यक्ष ओलीले चैत २६ गते काठमाडौंमा जसपाका पूर्व केन्द्रीय सदस्य विष्णुजंग बस्नेतको नेतृत्वमा पाँच सय बढी नेता–कार्यकर्तालाई एमाले प्रवेश गराउनुभयो । बिगत एक महिनायता मात्रै अन्य पार्टी त्यागेर एमाले प्रवेश गर्नेहरुको संख्या ३ लाख नाघिसकेको छ ।

एमालेप्रति जनआकर्षण बढनुमा राम्रो काम गर्दा अदालतले हटाएको तथ्य उजागर हुनु पनि हो । राम्रा काम गरिरहेकै बेला किन परमादेशबाट एमालेको सरकार ढलाइयो भन्ने कुरा जनताले बुझेका छन् । काम गर्न नदिएर एमालेलाई सरकारबाट हटाइएको कुरा जनताले थाहा पाइसके । एमाले छोडेपछि देशको हालत खराब भएको कुरा जगजाहेर छ ।

एमालेले सरकार छाडेपछि देशको अर्थतन्त्र अहिले रसातलमा पुगेको छ ।
पढनोस यो तथ्य

एमाले देश र जनताको पार्टी हो । देश, जनता, विकास र समृद्धिका लागि काम गर्ने पार्टी पनि एमाले हो भन्ने बुझेरै एमालेमै भविष्य देखेर विभिन्न पार्टी परित्याग गरी एमालेमा भित्रनेहरुको ताँती लागेको छ । गत पुस देखि अहिलेसम्म मात्रै एमालेमा हजारौंको संख्यामा जनप्रतिनिधि र नेता–कार्यकर्ता भित्रिएका छन् ।
फागुन २८ गते वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहित ४ जना वडाध्यक्ष फागुन एमालेमा प्रवेश गर्नुभयो । ०७४ को स्थानीय तह चुनावमा सरावगी जसपाबाट निर्वाचित हुनुभएको थियो ।

फागुन २५ गते मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल एमाले प्रवेश गर्नुभयो । ०७४ को स्थानीय तह चुनावमा उहाँहरु दुबै जना माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो ।

पुस १६ मा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ एमालेमा प्रवेश गर्नुभयो । मियाँ ०७४ को चुनावमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

बाँकेका नेता पशुपतिदयाल मिश्रसहित रामकुमार दीक्षित, गिरिजा पाठक पनि एमाले प्रवेश गर्नुभयो । राजपाका पूर्वसहमहामन्त्री मिश्र ०७४ को संघीय सांसद्को निर्वाचनमा सूर्य चिह्न लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो ।

रूपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव, ओमसतिया गाउँपालिकाका अध्यक्ष हीरा केवट र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गर्नुभयो । यादव जसपा, केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो ।

बाराको कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधि पनि एमाले प्रवेश गर्नुभयो । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तुका प्रभावशाली नेता मंगलप्रसाद गुप्ता पनि ७ हजार नेता–कार्यकर्तासहित एमाले प्रवेश गर्नुभयो ।

कपिलवस्तुका सांसद् बृजेशलाल गुप्ता पनि ७ हजार नेता–कार्यकर्तासहित एमाले प्रवेश गर्नुभयो । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव एमाले प्रवेश गर्नुभयो ।

यस्तै यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायत ८ हजार बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभयो । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव एवं दाङका नेता प्रमोद शर्मा र शर्माकी श्रीमती सीता चौधरी पनि एमाले प्रवेश गर्नुभएको छ ।

चैत ६ गते इलाममा एमाले अध्यक्ष ओलीले २ हजार बढीलाई पार्टी प्रवेश गराउनुभयो । एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्रबाट २ हजार बढी एमाले प्रवेश गरे । चैत ८ गते समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहसहित सिंगों पार्टी, प्रख्यात अभिनेत्री करिश्मा मानन्धरका साथै पर्साका माओवादी, कांग्रेस, जसपालगायत पार्टीका नेता–कार्यकर्तालाई एमाले प्रवेश गरे ।

नेकपा माओवादी केन्द्रका तर्फबाट सुर्खेत, क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेश सभाका निर्वाचित सदस्य तथा प्रदेश सभा दलका प्रमुख सचेतक ठम्मर विष्ट पनि चैत ६ गते एमालेमा प्रवेश गर्नभयो ।

चैत ६ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको फिक्कल पुगेर २ हजार बढीलाई एमालेमा प्रवेश गराउनुभयो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार बगडिया, उपमेयर केशवकुमारी खनाल र दुई जना वडाध्यक्षसहित करिब ५ हजार जनालाई फागुन २५ मा एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुभयो ।

विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा वाग्मती प्रदेश कमिटी सदस्य अमृतराज वैद्यलाई फागुन २२ मा अध्यक्ष ओलीले एमालेमा स्वागत गर्नुभयो । फागुन १ मा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय जनमोर्चाका नेता धर्म सिमालीको नेतृत्वमा जनमोर्चा र माओवादी परित्याग गरी पार्टी प्रवेश गर्नुहुने दाङका ३५ जना कार्यकर्तालाई पार्टीमा भित्र्याउनुभयो ।

पुस २१ मा एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटीका पूर्व सदस्य तथा ०६४ को संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित सभासद् छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लाका नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

पुस १८ मा अध्यक्ष ओलीले पूर्वमन्त्री यदुवंश झालाई पार्टीमा भित्रयाउनु भएको थियो । एमाले भित्र्याउने क्रम अझै बढेको छ । तराईमा फेरि ठूलो संख्यामा माओवादी, कांग्रेस र मधेसवादी दल त्यागेर एमाले भित्रने अभियान चलेको छ ।