जनता टाइम्स

६ बैशाख २०७९, मंगलवार ०८:२२

यी हुन निर्वाचन केन्द्रित एमालेका तीन चर्चित निर्णय


काठमाडौं, बैशाख ६ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि बिभिन्न पालिका र जिल्लाबाट सिफारिस भएका नामहरु समानुपातिकतर्फका बन्द सूचीबाट हटाउने निर्णय गरेको छ । सोमवार राती सम्पन्न केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेदवारहरु समेत पालिकाका उम्मेद्वार सिफारिशमा रहेकाले उनीहरुको नाम सूचीबाट हटाउने निर्णय गरेको हो ।

बैठकले विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको पनि नाम सिफारिस भएकाले ती व्यक्तिको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदालाई पारित गरेको छ । घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिने छ । बैठकले १२ वटा केन्द्रीय विभाग गठन गर्नुको साथै केन्द्रीय सल्लाहकार परिषदको संख्या १०६ बाट थपेर २७८ सदस्यीय बनाउने निर्णय पनि गरेको छ ।

त्यस्तै केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य थप भएको प्रमुख गुरुङले जानकारी दिनुभयो । बैठकले पार्टी केन्द्रीय कार्यालय वैशाख ९ गतेबाट च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सन्चालन गर्ने निर्णय समेत गरेको छ ।