जनता टाइम्स

७ बैशाख २०७९, बुधबार ०६:४७

विजय सुवेदी अर्थात निष्ठाबान र सादगी नेता, चितवनको आधुनिक विकासका अभियन्ता


राजनीतिक, स्वास्थ्य, शिक्षा र चितवनको समग्र विकासमा सुवेदीले खेलेको भूमिका अतुलनीय छ । जीवनलाई सधैं जनताको पक्षमा समर्पित गर्ने उहाँ अहिले चितवनको भरतपुर महानगरपालिकामा प्रमुख पदका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुभएको छ । भरतपुर महानगरपालिका थप विकासका सपना साकार पार्ने जिम्मेवारी अब यहाँका जनताले उहालाई सुम्पिनु पर्ने समय आएको छ

राधेश्याम खतिवडा

राजनीति र सामाजिक काममा अनवरत रुपमा सक्रिय विजय सुवेदी चितवनवासीका लागि नौलो नाम होइन । राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय सुवेदीले चार दशकभन्दा बढी चितवन र चितवनवासीको सेवामा विताउनु भएको छ । निष्ठाको राजनीतिलाई जीवन्तता दिंदै अगाडि बढ्नु भएका सुवेदीले जीवनभर लाभको पद लिनुभएन र जति सेवा गर्नु भएको छ निस्वार्थ भावले गर्नुभएको छ ।

विजय सुवेदी नेकपा एमाले चितवनका तीन पटक पार्टी नेतृत्व हाक्नुका साथै वाग्मती प्रदेशका पूर्वमन्त्री पनि हुनुहुन्छ । सुवेदी अहिले एमाले वाग्मती प्रदेश कमिटीका सचिव हुनुहुन्छ । सर्वाधिक चासो रहेको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमाले नेता विजयी सुवेदी उम्मेदवार बन्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी चितवनले सुवेदीलाई सर्वसम्मत रुपमा उम्मेदवार घोषणा गरेको हो । नेता सुवेदीलाई पोलिटव्युरो सदस्य देवी ज्ञवालीको प्रस्ताव र एमालेका संघीय सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका गर्नुभएको थियो । भरतपुर महानगरको मेयर निर्वाचित भएर देशकै नमूना शहर बनाउने अभिभारा एमालेले सुवेदीलाई सुम्पेको छ ।

चितवनको राजनीतिक, स्वास्थ्य, शिक्षा र समग्र विकासमा मेयरका उम्मेदवार विजय सुवेदीले खेलेको भूमिका अतुलनीय छ । जीवनलाई सधैं जनताको पक्षमा समर्पित गर्ने सुवेदी अहिले प्रदेशको सांसद, मन्त्री पछि महानगरको मेयरको प्रतिस्पर्धामा मैदानमा उत्रनुभएको हो ।

सुवेदीले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि आवश्यक रकम जुटाउन गरिएको धनधाञ्याञ्चल महायज्ञको संयोजक भएर काम गर्नुभएको थियो । त्यस्तै भरतपुर महानगरपालिका–११ को गणेशस्थानलाई गणेशधाम बनाउने भिजन पनि नेता सुवेदीकै थियो । उनी गणेशधाम संरक्षण र सम्वद्र्धन समितिका संरक्षक हुनुहुन्छ ।

भरतपुर महानगरपालिकामा रहेको अतिक्रमणको चपेटामा परेको नहरलाई व्यस्थित गरेर डुंगा सञ्चालन गर्ने सोच पनि सुवेदीले ल्याएका ल्याउनुभएको हो ।दासढुंगामा मदन–आश्रित पार्क र जलमार्ग निर्माणको काम नेता सुवेदीकै सोच अनुसार डीपीआर निर्माण गरिएको छ । सधै नागरिकको जीवन र जनसरोकारका विषयमा घुलमिल भएर काम गरिरहने सुेवेदी चितवनको आधुनिक विकासका अभियन्ता हुनुहुन्छ ।

२०२० साल चैत ५ गते क्याकमि–४, चाङसिङ्ग, स्याङ्जामा देवका सुवेदीको कोखबाट जन्मिनु भएका सुवेदीले चितवनको माटोमा रहेर राष्ट्र, समाज र जनताका लागि धेरै पसिना बगाउनुभयो । धेरै जेलनेल भोग्नु भएका उहाँले आन्दोलनको क्रममा रगत पनि बगाउनु परेका प्रशस्त उदाहरण छन् ।

स्याङजाबाट ०३७ सालमा बसाई सराई गरी चितवनको गुञ्जानगर आएको उहाँको परिवार ०६५ सालदेखि भरतपुर–१२ मिलनचोकमा स्थायी रुपमा बसोबास गर्दै आएको छ । परिवारको बसाई जहाँ भएपनि उहाँले अध्ययन, राजनीति र समाजसेवामा भरतपुरमा नै केन्द्रीत रहेर आफ्नो जीवनयात्रा अगाडि बढाउनु भयो ।

राजनीतिक जीवन
स्याङजामा जन्मिएर, पाल्पा हुँदै चितवनसम्म आईपुग्दा उहाँले राजनीतिमा धेरै जिम्मेवारी बहन गरिसक्नु भएको छ । २०३६ सालमा रामपुर पाल्पामा रहँदा कम्युनिष्ट पार्टीको सम्पर्कमा आउनु भएका सुवेदीले सोही वर्ष पाल्पामा तत्कालिन नेकपा (माले) निकट युवा लिगको सदस्य हुनुभयो । सोही वर्ष अनेरास्ववियू जिल्ला कमिटी पाल्पाको सदस्य हुनु भयो । पाल्पाबाट चितवन आउनु भएका उहाँले २०३९ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता लिनुभयो ।

२०३९ सालमै अनेरास्ववियू चितवनको कोषाध्यक्ष हुनुभयो । लगत्तै २०४० सालमा अनेरास्ववियू चितवनको सचिवको जिम्मेवारी लिनुभयो । कोषाध्यक्ष र सचिव पदमा जिम्मेवारीपूर्ण तरिकाले संगठन संचालन गरेको उहाँको भूमिकाले उहाँलाई लगातार अनेरास्ववियूको तीन कार्यकाल अध्यक्ष सम्हाल्ने जिम्मेवारी आयो । २०४१, २०४२ र २०४५ सालमा अनेरास्ववियू चितवनको अध्यक्ष भएर संगठनलाई हाँक्नुभयो ।

यो बीचमा २०४५ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च चितवनको अध्यक्ष हुनु भयो । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ चितवनको संस्थापक अध्यक्ष बन्नुभयो । २०४१ देखि २०४३ सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू सचिव भएर काम गर्नुभयो ।

२०२८ सालबाट बालकुमारी मावि नारायणगढ र २०३८ सालबाट वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा अध्ययन गर्नुभएका सुवेदीले त्रिविविबाट अर्थशास्त्र र इतिहासमा स्नातक र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्धिजममा स्नाकोत्तर गर्नुभएको छ ।

उहाँ २०४७ सालमा एमाले चितवनको सचिवालय सदस्य हुनुभयो । तत्कालिन अवस्थामा नेतृत्वको भूमिका खेल्ने सचिव पद उहाँले २०४९ सालबाटै सम्हाल्नु भयो । नेकपा एमाले चितवनको २०४९–२०५०, २०६१–०६४ र २०६४–०६६ गरी तीन कार्यकाल सचिव बन्नु भयो ।

यो बीचमा २०५५ देखि २०५९ सालसम्म राष्ट्रिय परिषद् सदस्य भएर पार्टीको जिम्मेवारी सल्हानुभयो । २०६७ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएर पनि उहाँले पार्टीको कामलाई निरन्तरता दिनुभयो । हाल नेकपा एमाले तीन नम्बर प्रदेश कमिटी सदस्य रहनु भएका सुवेदीले राजनीतिमा पार्टीले दिएको जिम्मेवारी सधैं सफलतापूर्वक सम्पन्न गर्नुभएको छ ।

उहाँले संगठन र पार्टीको नेतृत्वमा रहँदा फरक शैलीमा संगठन र पार्टीलाई अगाडि बढाउनु भयो । संगठन र पार्टीका कार्यक्रमहरु, बैठक र सम्मेलनहरु जनताको प्रत्यक्ष सहभागितामा गर्ने परम्पराको शुरुवात उहाँले नै गर्नुभयो । २०६४ सालमा अनेरास्ववियूको १८ औं राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सय विद्यार्थी प्रतिनिधिहरुलाई एक हप्तासम्म जनताको घरघरमा राखेर जनआधारित रुपमा सम्पन्न गरिएको थियो ।

आन्दोलनमा भूमिका
२०३६ सालमा रामपुर पाल्पामा रहँदा विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुनु भएका सुवेदी २०४५÷०४६ सालको जनआन्दोलनमा चितवनमा रहेर सक्रियतापूर्वक सहभागी हुनुभयो । २०४६ साल फागुन ७ गते उहाँलाई आगजनीको मुद्दा लगाई वीरगञ्ज जेल पठाईयो ।

२०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले कु गरेकै दिन नारायणगढको शहीदचोकमा कालोझण्डा प्रदर्शनसहितको कोणसभालाई सम्बोधन गरी चुनौती दिनुभयो । ०६२/०६३ को जनआन्दोलनमा एमालेका तर्फबाट संयोजक रहनु भएका सुवेदी आन्दोलनको क्रममा गम्भीर घाईते हुनुभयो । त्यसका वावजुद पनि उहाँले आन्दोलनलाई प्रभावकारी रुपमा अगाडि बढाउनु भयो । त्यस समयको चितवनको आन्दोलन राष्ट्रिय रुपमा नै चर्चित रह्यो ।

जेल जीवन
आन्दोलनकारीको नेतृत्व गर्दै होमिनु भएका उहाँलाई पटकपटक गरी ६ महिना जेल हालियो । ०४२ सालमा एक महिना हनुमान ढोका प्रहरी कष्टडीमा याताना दिंदै राखियो । ०४५ सालमा चितवनमा गिरफ्तार गरी वीरगञ्ज लगेर २ महिना १५ दिन र ०४६ सालमा पनि चितवनमा नै पक्राउ गरी वीरगञ्ज लगेर २ महिना १५ दिन जेल हालियो । यसबीचमा उहाँले अनेकन झुटा मुद्दाहरु व्यहोर्नु परेको थियो । आन्दोलनकै क्रममा २०४३ देखि २०४५ सालसम्म उहाँले चितवन र मकवानपुरमा भूमिगत जीवन बिताउनुभयो ।

बि.सं. २०४३ सालमा भएका राष्ट्रिय पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालको प्रचारप्रसार समितिको संयोजक भएर काम गर्नुभयो । भेटवाललाई जिताउन उहाँको भूमिका अग्रणी रह्यो । बि.सं. २०५६ सालमा प्रतिनिधिसभा सदस्य पदमा तत्कालिन चितवन क्षेत्र नं. ४ बाट र २०६४ सालमा चितवनको तत्कालिन क्षेत्र नं. ५ बाट संविधानसभा सदस्य पदमा उम्मेदवार बन्नु भयो ।

सामाजिक सेवाका क्षेत्रमा भूमिका
राजनीतिसँगै उहाँले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । जहाँ जहाँ उहाँले जिम्मेवारी लिनुभयो त्यहाँ त्यहाँ उहाँले सफलतापूर्वक जनचाहना अनुरुप काम सम्पन्न गर्नुभएको छ । स्वास्थ्य, शिक्षा र भौतिक निर्माणका क्षेत्रमा उहाँले गरेका र अगाडि सारेका योजनाहरु चितवन जिल्लामा सधैं प्रशंसा हुने गरेका छन् । ती योजनाले यहाँको समग्र विकासमा तत्कालिन र दीर्घकालिन रुपमा धेरै ठूलो परिवर्तन ल्याउन सक्ने खालका छन् ।

बृहत चितवनको अवधारणा, ठोरी नाका सञ्चालनका लागि उहाँले गरेको प्रयास, भरतपुरलाई महानगरपालिका बनाउन उहाँले खेलेको भूमिका, भरतपुर अस्पतालमा रहेको गुरुयोजनालाई समयसापेक्ष सुधार गरी अगाडि बढाईएका कदम, सप्तगण्डकी क्याम्पसमा शिक्षामा गरिएका सुधार जस्ता उहाँले अगाडि सारेका योजनाहरु चितवनमा सधैं चर्चा हुने विषयहरु हुन् ।

सुवेदी २०६७ देखि २०७१ सालसम्म सप्तगण्डकी बहुमुखी क्याम्पसको उपाध्यक्ष भएर शिक्षाको क्षेत्रमा धेरै राम्रा काम गर्नुभएको छ । २०७१ सालदेखि २०७३ सालसम्म भरतपुर अस्पताल विकास समितिको अध्यक्ष भएर उहाँले स्वास्थ्य क्षेत्रमा गर्नुभएको कामको सधैं प्रशंसा हुने गरेको छ । भरतपुर अस्पतालमा पूर्व अध्यक्ष स्व.नरबहादुर खाँडले शुरुवात गर्नुभएको गुरुयोजनालाई उहाँले आजको आवश्यकता अनुसार पुनः व्यवस्थित गरी कार्यान्वयनको चरणमा लैजाने काम गर्नुभएको छ । अस्पतालको अधुरो रहेको ए र बी ब्लक भवन निर्माणको काम सम्पन्न गरी आईसियू र एनआईसियूलगायतका सेवाहरु संचालन गराउनु भयो ।

अस्पतालमा सिटी स्क्यान लगायतका आधुनिक उपकरण भित्राई, दक्ष जनशक्ति र चुस्त व्यवस्थापन गराई नेपालकै राम्रो सरकारी अस्पतालहरु मध्येको एक बनाउन सफल हुनु भयो । भरतपुर अस्पताललाई मेडिकल कलेजले वर्षाैदेखि तिर्न बाँकी रहेको रकम उहाँकै कार्यकालमा तिर्न लगाई अस्पतालको विकासमा लगाईयो । अस्पतालमा अधुरो रहेको शव गृह मेडिकल कलेजलाई निर्माण पूरा गराउन उहाँले भूमिका खेल्नुभयो ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट स्वीकृत लिएर भरतपुर अस्पतालमा एमडिएमएस कक्षा संचालन, बीएन कक्षा संचालन गरी भरतपुर अस्पतालमा शैक्षिक कार्यक्रमलाई पनि सफलतापूर्वक अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभयो । उहाँ अध्यक्ष भईरहँदा बैठक भत्ता स्वरुप पाएको रकम पनि उहाँले अध्यक्ष पद छाड्ने समयमा अस्पतालमा गरिब तथा विपन्न उपचार कोष स्थापना गरी सोही कोषलाई हस्तान्तरण गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई व्यवस्थित गर्न गठित समितिको संयोजक भएर उहाँले काम गर्नुभयो । २०७३ माघ ३ गते गठित चितवन जिल्ला स्वास्थ्य सुधार सुझाव कार्यदलको संयोजक भएर उहाँले ६ आश्विन २०७४ मा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

२०६६ सालमा जिल्ला विकास समिति चितवनले गठन गरेको चितवन उपत्यका गुरुयोजना निर्माण समितिको संयोजक भएर उहाँले जिम्मेवारी पूरा गर्नुभयो । उहाँले २०६७ सालमा उक्त गुरुयोजनाको प्रतिवेदन तयार पारी प्रस्तुत गर्नुभयो ।

राजनीतिक, स्वास्थ्य, शिक्षा र चितवनको समग्र विकासमा सुवेदीले खेलेको भूमिका अतुलनीय छ । जीवनलाई सधैं जनताको पक्षमा समर्पित गर्ने उहाँ अहिले चितवनको भरतपुर महानगरपालिकामा प्रमुख पदका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुभएको छ । भरतपुर महानगरपालिका थप विकासका सपना साकार पार्ने जिम्मेवारी अब यहाँका जनताले उहालाई सुम्पिनु पर्ने समय आएको छ ।