काठमाडौं, बैशाख ८ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ४२ प्रतिशत स्थानीय तहमा आफ्नो उम्मेदवारलाई जिताएर सवैभन्दा ठूलो पार्टी बन्यो । सरकारमा रहेको कांग्रेस माओवादी केन्द्रको जोडबल गर्दा पनि दोस्रो बन्न पुग्यो । स्थानीय तहको चुनावपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी एमालेतिर गठबन्धन गर्न आयो । त्यत्तिमात्र होइन, जनताको बहुदलीय जनवादलाई निशर्त स्वीकार गर्छु भन्ने खाली कागजमा हस्ताक्षर गरी प्रचण्ड पार्टी मिसाउन तयार हुनुभयो ।
यस वर्ष हुन लागेको निर्वाचनमा एमालेबाट माधव नेपाल समूह बाहिरिएकोले आफू पहिलो हुने दावी नेपाली कांग्रेसल गर्दै आएको छ । तर गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि आफ्नै पार्टी पहिलो र ठूलो हुने दाबी बेलाकुबेला गर्दै आउनुभएको छ । त्यसो त गत भदौमा एमालेबाट केही नेताहरु लिएर बाहिरएको नेकपा (एस)का अध्यक्ष माधव नेपाल पनि आउने निर्वाचनमा आफ्नो दल पहिलो बन्नबाट कसैले रोक्न नसक्ने दावा गरिरहनु भएको छ ।
तर के अब आउने निर्वाचनमा त्यस्तै परिणाम आउला त ? एक्ला एक्लै चुनावमा जाँदा देशैभर एमालेले जित्ने भन्दै एमाले रोक्नका लागि गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन । एमाले एक्लै ५० प्रतिशतको हाराहारीमा रहेकोले उसलाई रोक्न पाँच दलीय गठबन्धन अनिवार्य रहेको सत्तारुढ पार्टीको बुझाइ छ । तर उम्मेद्वारी दिँदा भने गठबन्धन आफै धरापमा परेको छ ।
सत्ता गठबन्धनले बुधवार ६ वटा महानगर र ११ वटा उपमहानगरका प्रमुख र उपप्रमुखमा भागबण्डा टुंग्याएको छ । भागबण्डा अनुसार कांग्रेसले ३ महानगरपालिका काठमाडांै, विराटनगर र ललितपुर पाएको छ भने ७ उपमहानगरपालिका धरान, बुटवल, इटहरी, कलैया, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पाउने भएको छ । पहिलो पार्टी हुने दाबी गर्ने कांग्रेसले संख्यामा हेर्ने हो भने ३ वटा महानगर त चुनाव अघि नै हारिसक्यो ।
यो भनेको ५० प्रतिशत महानगरमा कांग्रेसले अहिले नै गुमाइसक्यो । त्यस्तै ४ वटा उपमहानगर पनि कांग्रेसले अहिले नै गुमाइसकेको छ । यसको अर्थ ३६.३ प्रतिशत उपमहानगरपालिका कांग्रेसले अहिले नै हारिसकेको छ । चुनावअगावै यति पालिका गुमाइसकेको कांग्रेस अब पहिलो पार्टी बन्छु भन्दा कुनै मतदाताले पत्याउने अवस्था छैन ।
शतप्रतिशत सिटमा उम्मेदवारी दिएर पहिलो पार्टी बन्छु भनेको भए जनताले पत्याउने थिए तर जम्माजम्मी आधाआधी सिटमा उम्मेदवारी दिएर पहिलो पार्टी बन्छु भन्नु आफैंमाथिको भद्धा मजाक हो भन्ने राजनीतिक बिश्लेषकको बुझाइ छ । यो सिटको बाँडफाँडकै आधारमा देशका अन्य नगरपालिका र गाउँपालिकामा कति सिट भागी पाउला भन्ने कुराको संकेत प्राप्त भइसकेको छ ।
हरेक चुनावमा आफूलाई सबभन्दा ठूलो पार्टी बन्छु भन्न नछोड्ने तर सधैं कसै न कसैको वैशाखी बिना निर्वाचनमा जानै नसक्ने माओवादी पार्टीले जम्मा ६ मध्ये एउटा भरतपुर महानगरपालिकामा चित्त बुझाएको छ । प्रतिशतको हिसाबले महानगरमा माओवादीले १६.६ प्रतिशत सिट पाएको छ । जसका आधारमा पहिलो पार्टी बन्छु भन्दा आम मतदाताले के भन्लान् ? ११ उपहमहानागर मध्ये माओवादीले २ वटा जीतपुर सिमरा र घोराहीमा उम्मेद्वारी दिन पाउने भएको छ । यसको अर्थ ९ वटा उपमहानगर उसले चुनाव अघि नै गुमाइसक्यो । ‘६ मा १ भाग पाउने ११ मा २ भाग पाउने माओवादीले पहिलो पार्टी त हैन मुस्किलले आफ्नो अस्तित्व देखाउने हैसियतमा अहिले नै पुगिसकेको यो तथ्यले देखाउँछ ।
नेकपा एसको त धेरै व्याख्या गर्नु परेन । एमालेबाट अलगिएको बिलौना स्वरुप माधव नेपाल बेला बेला हामी पहिलो दल भन्छौं भन्नुहुन्छ । उहाँको पार्टीले ६ मध्ये १ पोखरा महानगरमा उम्मेदवारी दिन पाउनेछ । त्यस्तै ११ मध्ये १ हेटौडा उपमहानगरमा उम्मेद्वारी दिन पाउनेछ । जम्मा ११.७६ प्रतिशत सिटमा उम्मेद्वारी पाएर चुनाव चिन्ह प्रचार गराउने अभियान मात्र देखिएको छ । तथ्यले जनता समाजवादी पार्टी बरावरको हैसियत नेकपा एसको देखिन्छ । जसपाले पनि एसले जस्तै १ वीरगन्ज महानगर र १ जनकपुर उपमहानगरमा उम्मेद्वारी दिन पाउने भएको छ । जुन ११.७६ प्रतिशत सिट हो ।

गठबन्धनका दलहरुले अब यसैगरी सिट विभाजन गर्नेछन् । र,कांग्रेस निर्वाचन अगावै ५८ प्रतिशत सिटमा मात्र उम्मेद्वारी दिन पाउने अवस्थामा खुम्चिनेछ भने माओवादी १७ प्रतिशतमा खुम्चिनेछ । एस र जसपा ११ प्रतिशत सिटमा चित बुझाउन बाध्य हुनेछन । जसको आधारमा एमालेको बिजय यात्रालाई रोक्न सक्ने ताकत गठबन्धनमा देखिएको छैन ।
गठबन्धनकै एक नेता भन्छन, ‘महानगर र उपमहानगरको भागबण्डाले नै एमाले सवैभन्दा ठूलो पार्टीका रुपमा जनताबाट स्थापित हुने प्रष्टै देखियो । गठबन्धनले त एमालेलाई पो फाइदा पुग्ने देखियो ।’ यी तथ्यहरुले कांग्रेस ठूलो दल बन्न होइन, दोस्रो बन्नका लागि मात्रै चुनावी दौडमा उत्रिएको देखिएको छ भने माओवादी र माधवले जित्न होइन, अस्तित्व रक्षाका लागि मात्रै चुनावमा होमिएको तथ्य स्वीकार गरेको प्रष्ट भएको छ ।













प्रतिक्रिया दिनुहोस्