जनता टाइम्स

९ बैशाख २०७९, शुक्रबार ०९:२४

यसकारण बदलियो केपी ओलीप्रति मधेशको मन


मधेस विरोधी भनेर फैलाइएको भ्रमलाई एमाले अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकारले विकास र प्रेमले चिर्‍यो । यो प्रयास सरकारमा हुँदा होस वा सरकार बाहिर हुँदा निरन्तर जारी रहेको छ । त्यसैले अहिले मधेसमा ‘ओली क्रेज’ छ । एमालेमा जनलहर आएको छ । मधेसमा पहिलो शक्ति बन्ने अभियान जारी रहेको छ

अर्पण राई

वीरगञ्जका पत्रकार महेस दासको अनुभवमा कुनैबेला एमाले अध्यक्ष केपी ओलीको नाम उचारण गरियो भने कुटाइ खानु पर्ने वा गालीगलौज हुन्थ्यो । तर अहिले मधेसको अवस्था फेरिएको छ । अहिले अध्यक्ष ओलीको विरोध गर्‍यो भने उनै जनता प्रतिवादमा उत्रिन्छन् । अर्थात् मधेसमा अध्यक्ष ओलीप्रतिको आकर्षण अहिले चुलिएको छ । मधेसमा जताततै एमालेका ठूला आमसभा आयोजना हुने र पार्टी प्रवेशको लहर नै चलेको छ । केही महीनायता पार्टी प्रवेश कार्यक्रमको लागि एमाले अध्यक्ष ओली तीन पटक पर्सा जिल्ला पुग्नु भयो । रौतहट, बारा, सर्लाही, धनुषा लगायतका जिल्लामा अध्यक्ष ओलीको उपस्थितिमा ठूला आमसभामा भए । केन्द्रदेखि स्थानीय तहसम्मका नेता, जनप्रतिनिधिहरूलाई एमालेमा प्रवेश गराउनु भयो ।

२०६३/०६४ को मधेस आन्दोलनपछि एमाले अध्यक्ष ओली र मधेसबीच टाँढिएको सम्बन्ध अहिले प्रेमिल जोडीको जसरी गाँसिएको छ । संविधान निर्माण, संघीयता कार्यान्वयनसँगै मधेसको मुद्दा र समस्याका विषयमा एमाले अध्यक्ष ओलीको अभिव्यक्ति नकरात्मक भएको भन्दै प्रचार गरेर जनमत बटुलिरहेका राजनीतिक दलहरूको झुटको राजनीति जनताले बुझे । त्यही कारण अहिले मधेसमा एमाले पहिलो शक्ति बन्न सक्ने अडकलबाजी गर्ने जमातसमेत बढेको छ । मधेसमा एमाले अध्यक्ष ओलीप्रतिको सम्मान र आकर्षण किन बढ्यो त ? भनेर केही तथ्यहरू केलाउने प्रयास गरिएको छ ।

सरकारमा सहकार्य

मधेस विरोधी भनेर प्रचार गरिएका एमाले अध्यक्ष केपी ओलीले दुइतिहाईको सरकार बनाउदा मधेसवादी दललाई सरकारमा सहभागिता नगराउँदा पनि हुने थियो । तर एमाले अध्यक्ष ओलीले त्यसो गर्नु भएन । उहाँले मधेसवादी दललाई सरकारमा सहभागिता गराएर राष्ट्रिय एकता कायम गर्न सवै क्षेत्र र समुदायको प्रतिनिधित्व गराउनु भयो । कुनैबेलाका धुरन्धर विरोधी मधेसवादी दलहरू अध्यक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि एमाले अध्यक्ष ओलीप्रति मधेसमा सकारात्मक धारणा निर्माण गराउन भूमिका खेले ।

सरकारबाट बाहिर गएपनि मधेसका ठुलो हिस्सामा रहेका नेताहरु अध्यक्ष ओलीको सम्पर्क र समन्वयमा रहे । पछिल्लोपटक जसपा फुटेर बनेको लोसपाका ११ र अन्य २ गरेर २५ सदस्यीय मन्त्रिपरिषद्मा १३ जना मधेस प्रदेशकै मन्त्री बने । नेपालको इतिहासमा मधेसी सामुदायबाट यति ठूलो संख्यामा सरकारमा सहभागिता भएको पहिलोपटक थियो । यहीकारण उहाँप्रति छरिएको भ्रम चिर्न ठूलो मद्दत गरेको हो ।

मधेसमा विकासको लहर

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्दा मधेस प्रदेशका सदरमुकाम जाने सडकहरु साँघुरो र जीर्ण थिए । ओली नेतृत्वको सरकारले ती जिल्ला सदरमुकाम जोड्ने सडकलाई फराकिलो चौडा–फोरल्याण्ड) निर्माण गर्ने योजना बनायो र कार्यन्वयनमा ल्यायो । खाल्डाखुल्डी र साँघुरो सडकको पिरलोमा रहेका मधेसबासी जनताले फराकिलो सडक बनेसँगैे विकासको अनुभूति गर्ने अवसर पाए । विकासको पहिलो पुर्वाधार सडक हो । राम्रो सडक बनेपछि मधेस प्रदेशका सदरमुकाम र अन्य शहरहरु सफा र सुन्दर बन्न थाले । सदियौंदेखिको समस्या सुल्झिएपछि एमाले अध्यक्ष ओलीप्रतिको सम्मान बढेको हो ।

त्यस्तै मधेसको लाईफलाईनको रुपमा रहेको हुलाकी सडकसमेत बषौंदेखि जिर्ण अवस्थामा रहेको थियो । पुनर्निर्माणको लागि ठेक्का लागे पनि काम भएको थिएन । तर एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि हुलाकी सडकको पुनर्निर्माणको कामले गति लियो । दर्जनौं पुल बने, सडक कालोपत्रे भयो । कृषि उत्पादनलाई ठूला शहरसम्म विक्री गर्न थाले । यात्राको समय छोटियो । सडक बनेसँगै मधेस प्रदेशको दक्षिणका क्षेत्रमा विकासको लहर चल्यो । मधेसी जनताको आर्थिक विकास हुन थल्यो । राजा महेन्द्रले निर्माण गरेको हुलाकी राजमार्गको जिर्णोद्वार र पूर्ण बनाउने कार्य ओली नेतृत्वको सरकारले गरेको हो ।

ओली सरकारकै नेतृत्वमा काठमाडौं-निजगढ जोडने फास्ट ट्रयाक निर्माण सुरु भएर अन्तिम चरणमा पुगेको छ । निजगढ विमानस्थलको निर्माण योजना अगाडि बढेको छ । मधेस प्रदेशमा रहेका सिमरा र जनकपुर विमानस्थलको पुर्ननिर्माण गरी रातीको समयमा पनि सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण गरिएको छ । बन्द रहेको राजविराज विमानस्थलको पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको छ । नेपालमा रेल चलाउने कुरा गर्दा एमाले अध्यक्ष ओलीलाई सामाजिक सञ्जालमा ट्रोल गरियो । तर जयनगर–जनकपुर रेल सञ्चालन ओली सरकारकै पालामा भयो ।

विधुत प्राधिकरणमा ठुला सबस्टेसनहरु ओली सरकारकै पालामा मधेस प्रदेशमा निर्माण भए । बारा पर्सामा टोर्नाडो(हुरीबतास) बाट घर भत्किएर विस्थापित भएका ८५० परिवारलाई घर बनाएर पुनस्थापना गर्ने कार्य ओली सरकारले २ महिनामा पुरा गरेको थियो । यी सँगै मधेसमा भूमिगत सिंचाई आयोजना निर्माण गरी हजारौं हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउने कार्यहरु भए ।

मरिन डाइभर्सन बनाएर सुनकोशीको पानी मधेसमा लैजाने आयोजनाको सुरुवात ओली सरकारले नै गरेको हो । मधेसका धार्मीक तथा पर्यटकीयस्थलको पुर्ननिर्माण र प्रचारप्रचार, संस्कृतिको जगेर्ना गर्न ओली सरकारले महत्वपूर्ण कार्य गरेको छ । ‘बेटी बचाउ, बेटी पढाउ’ जस्ता कार्यक्रम ल्याएर साक्षरता उन्मुलन गराउने कार्यको थालनी भयो । यी विकास परियोजना र कामले मधेसमा एमाले अध्यक्ष ओलीप्रतिको दृष्टिकोणमा परिवर्तन भयो र जनलहर निर्माण भएको हो ।

मधेसमा सदियौंदेखि नागरिकताको समस्या छ । नेपाली नागरिकले नागरिकताविहिन भएर बस्नु पर्ने जटिल समस्या अहिले पनि छ । यो विषयलाई मधेसबादी दलका नेताहरुले सत्तामा जाने भर्‍याङ मात्रै बनाइ रहे । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि यो समस्या समाधान गर्न कुनै सरकारले सकेको थिएन । तर ओली सरकारले नागरिकता विधेयक ल्याएर मधेसमा रहेका लाखौं जनतालाई नागरिकता दिने नीति अबलम्बन ग¥यो । यो मधेसका जनताप्रति एमाले अध्यक्ष ओलीले गरेको अपार सम्मान र प्रेम थियो ।

मधेस विरोधी भनेर फैलाइएको भ्रमलाई एमाले अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकारले विकास र प्रेमले चिर्‍यो । यो प्रयास सरकारमा हुँदा होस वा सरकार बाहिर हुँदा निरन्तर जारी रहेको छ । त्यसैले अहिले मधेसमा ‘ओली क्रेज’ छ । एमालेमा जनलहर आएको छ । मधेसमा पहिलो शक्ति बन्ने अभियान जारी रहेको छ ।