जनता टाइम्स

१३ बैशाख २०७९, मंगलवार १२:११

कार्यकर्तालाई ओलीको आह्वान : अहिले आवेग उत्तेजनामा आउने होइन, आपराधिक गठबन्धनलाई हराउने हो


काठमाडौं, बैशाख १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले टिकट नपाएकै कारण बागी विद्रोही गर्ने वा क्षणिक आबेग उत्तेजनामा नआउन देशभरका पार्टी पंक्तिलाई अपिल गर्नुभएको छ । मनमोहन स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो अपिल गर्नुभएको हो ।

उहाँले उम्मेदवारी मनोनयन र टिकट वितरणमा कहिँ कतै बेठीक पनि भएको भन्दै त्यसको समीक्षा चुनावपछि हुने बताउनु भयो । अध्यक्ष ओलीले आफूले टिकट नपाएकै कारण बागी विद्रोही गर्ने वा क्षणिक आबेग उत्तेजनामा आउने चरित्र एमालेको नभएको भन्दै एमालेका कार्यकर्तालाई एक सुर एक तालमा पार्टीलाई जिताउन आह्वान गर्नुभयो ।

‘क्षणिक आबेग उत्तेजनामा आउनु हुँदैन । संयम र धैर्य नै एमालेको चरित्र हो । एकमन एकताका साथ एमालेका देशभरका कार्यकर्ता उभिनुपर्छ । अहिले मनोनयन दर्ताका सम्बन्धमा ,सबै ठाउँमा ठिकै भएको नहुन सक्छ, बेठीक पनि भएको होला । तर, अहिले आवेग उत्तेजनामा आउने होइन, आपराधिक गठबन्धनलाई हराउने हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

पार्टीप्रति निष्ठावान र बफादार छु भन्ने तर वडाध्यक्ष वा सदस्यको टिकट नपाएपछि बागी विद्रोही गर्ने, अर्को पार्टीमा जाने प्रवृति एमालेमा नसुहाउने उहाँको भनाई छ ।