चितवन, बैशाख १३ । भरतपुर महानगरपालिकामा पाँच दलीय महागठबन्धनविरुद्ध एक्लै भिडिरहेको नेकपा एमालेलाई राप्रपाले साथ दिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेनु दाहाललाई पुनः मेयरको उम्मेदवार बनाएपछि राप्रपाले एमालेलाई साथ दिएको हो ।
अघिल्लो निर्वाचनमा ६ हजार मत कटाएको राप्रपाले यसपटक एमालेको मेयर उम्मेदवार विजय सुवेदीलाई समर्थन गर्दै उपमेयरमा मात्र उम्मेदवारी दिएको छ । उपमेयरमा राप्रपाबाट महिला नेतृ जिल्ला उपाध्यक्ष हिमला गुरुङले उम्मेदारी दिनुभएको हो । भरतपुर महानगरपालिका शारदानगरकी हिमला राप्रपाको पुराना नेता हुनुहुन्छ ।
राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र रहेको भरतपुर र माडी दुवैमा एमालेलाई मेयरमा सघाएर राप्रपाले उपमेयर लिएको छ । माडीको उपमेयरमा राप्रपाबाट मदन पौडेल उम्मेदवार बन्नुभएको छ । त्यहाँ एमालेबाट यसअघिकी उपमेयर ताराजकाजी महतो मेयरको उम्मेदवार हुनुहुन्छ ।
भरतपुरको मेयरमा कांग्रेका नेता पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। अघिल्लोपटक राप्रपालाई उपमेयर नदिँदा ३ सय मतको अन्तरमा पराजित भएकाले यसपटक राप्रपालाई समेत समेटेर एमाले ढुक्क हुन खोजेको हो ।
एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने अव भरतपुरमा चुनाव जित्ने निश्चित भएको बताउनु भयो । राप्रपाले भरतपुर महानगरमा आफ्नो पक्षमा ८ हजार मत रहेको बताएको छ । हालैमात्र अध्यक्ष राजेन्द्र लिङ्देनसहितको उपस्थितिमा राप्रपाले वृहत् आमसभा गरेको थियो । यो सहमतिसँगै अव महागठबन्धनकी उम्मेदवार दाहाल पराजयतिरको यात्रामा देखिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्