काठमाडौं, १६ वैशाख । बागी उम्मेदवारलाई फकाउन चितवन पुगेका दुई मन्त्री काठमाडौं फर्किनुभएको छ । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन चितवन पुग्नुभएको गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किनुभएको हो । दुवैजना आज दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किनुभएको हो ।
बागी उम्मेदवारलाई फकाउन गृहमन्त्री खाँण १४ वैशाखमा चितवन जानुभएको थियो । हिजो दिनभर उहाँलाई मनाउन अनेकन प्रयास गर्नुभएको थियो । तर, पौडेलले आफू निकै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नहुने अडान कायम राख्नुभएको थियो । घरमै पुगेर फकाउने प्रयास गरेका गृहमन्त्री खाँडलाई बागी उम्मेदवार पौडेलले आफु पछि नहट्ने बताउनुभएको थियो ।
पौडेललाई फकाउन गृहमन्त्री खाँणसँगै राज्यमन्त्री श्रेष्ठ पनि घरमै पुग्नुभएको थियो । हिजो विहान र राति गरेर दुईपटक छलफल गरे पनि उहाँ उम्मेदवारी फिर्ता लिन तयार हुनुभएन । त्यो बीचमा उहाँहरूले विभिन्न अफरसमेत गर्नुभएको थियो । प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उहाँलाई गरिएको थियो । उहाँलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुग्नुभएको थियो ।
तर, आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उहाँको अडान थियो । केही दिन अगाडि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुग्नुभएको थियो । उहाँले कांग्रेस नेताहरूलाई भेटेर बागी उम्मेदवारी फिर्ता लिन लगाउनुभएको थियो । भरतपुरबाट प्रचण्ड छोरी रेणु दाहालले मेयरमा उम्मेदवारी दिनुभएको छ ।
यदि पौडेलले उम्मेदवारी फिर्ता नलिएको खण्डमा रेणुलाई जित्न मुस्किल पर्ने देखिन्छ । जसले गर्दा प्रचण्डको दबाब पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रयत्न गरिरहनुभएको छ । उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेललाई नेपाली कांग्रेसले कारवाहीको तयारी गरेको छ । आज बेलुकासम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको छ । तर, उहाँले पार्टीले अनुशासनका कारवाही गरे भोग्न तयार रहेको बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्