लालबन्दी, बैशाख १६ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समय सकिएपछि कांग्रेस उम्मेदवारको मनोनयन खारेज गर्न धम्की दिँदै निर्वाचन आयोगलाई पत्र पठाउनु भएको छ । देउवाको धम्कीपुर्ण पत्रसँगै सर्लाहीको लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयमा खोलिएको निर्वाचन अधिकृतको कार्यालय अगाडि कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरेका छन ।
देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी शुक्रबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएपछि कांग्रेसका नेता कार्यकर्ता त्यसको विरोधमा नाराबाजीमा उत्रिएका हुन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट शुक्रबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भइसकेको र उम्मेदवारी फिर्ता लिने समय ५ बजेपछि देउवाले पठाएको सो पत्रलाई मान्यता नदिन माग गर्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि पुगेर नाराबाजी गरिरहेका हुन् ।

लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा कांग्रेसको मेयरका उम्मेदवार बासुदेव अधिकारीको नाम उल्लेख छ । देउवाले पत्र पठाएपनि अधिकारीको उम्मेदवारी कानुनतः फिर्ता हुने अवस्था छैन् । तर प्रधानमन्त्री देउवाले नै उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाउनु भएको हो ।
शुक्रबार साँझ मात्र लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको छ । मेयरमा माओवादीले प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीले गोविन्द अधिकारीलाई अघि सारेको छ । कांग्रेसले यदि मेयरमा उम्मेदवारी फिर्ता लिएपनि उपमेयरमा के हुने भन्ने देउवाले पठाएको पत्रमा उल्लेख छैन ।













प्रतिक्रिया दिनुहोस्