इटहरी, १८ बैशाख । इटहरीमा नेकपा एमाले एकजुट भएको छ । सूर्यध्वजावाहक मेयर, उपमेयर लगायतका उम्मेदवारहरुलाई जिताउन एकजुट भएको हो । बुद्धिजीवी शाखा कमिटि तथा विभिन्न पेशागत संघ, संगठनले आयोजना गरेको कार्यक्रमको मञ्चमा उभिएर नगरमा प्रभाव राख्ने जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरुले ऐक्यबद्धता व्यक्त गर्नुभएको हो ।
इटहरीमा रहेका एमालेका प्रभावशाली नेताहरुबिच तिक्तता रहेको हल्ला बाहिर आइरहँदा सबै नेताहरुले मन्चमार्फत् एकताको सन्देश दिएका हुन् । एमाले स्थायी कमिटि सदस्य प्रदेश ईन्चार्ज देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु भगवति चौधरी, लक्ष्मी गौतम, तैयव हुसेनले चुनाव जीत्न दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला अध्यक्ष रेवती भण्डारीले द्धारिकालाल चौधरी र लक्ष्मी गौतमको नेतृत्वमा रहेको उपमहानगरले अत्यन्तै राम्रो काम गरेकाले बाँकी अविभारा पूरा गर्न एमालेले जित्नुपर्ने बताउनुभयो । इटहरी उपमहानगरका मेयर चौधरीले नेपाली काँग्रेस आउट डेटेड पार्टी भएको बताउँदै इटहरी जित्ने काँग्रेसको सपना अधुरै रहने दाबी गर्नुभयो । चौधरीले नेपाली काँग्रेसको चक्रव्यूँह तोडेर एमालेलाई जिताउने बताउनुभयो ।
त्यसको लागि आफूले नेतृत्व लिनुपरे तयार रहेकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो ‘आपसी मतभेदहरुलाई चुनावपछि आत्मसमिक्षा गरौंला । तर चुनावमा हाम्रा उम्मेदवारलाई जिताउन के–के गर्नुपर्छ त्यतातिर लागौं ।’ कार्यक्रममा केन्द्रीय सदस्य अमृता सुब्बा, प्रदेश सांसदहरू सर्वध्वज साँवा र लिलम वस्नेत, प्रदेश सदस्य राम प्रसाद चौलागाँई, हिमाल सुवेदीलगायतका नेताहरु सहभागि रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्