जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार १७:४७

मतदान प्रक्रियाबारे अन्योलमा मतदाता


लमजुङ, २१ वैशाख । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ । ३० वैशखमा हुने स्थानिय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दल यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् । मत हाल्ने दिन नजिकिए पनि मतदाता शिक्षामा कसैले चासो नदेखाएको मतदाताको गुनासो छ ।

यसपटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झन् बढेको हो । यस वर्ष सत्तासिन दलले छिटपुटबाहेकका स्थानीय तहमा आ–आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेगरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको हो ।

लमजुङको बेसीशहर नगरपालिका–११ की पार्वती थापा पनि कसरी मतदान गर्ने भन्ने अन्योलमै हुनुहुन्छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा पार्वतीजस्ता धेरै मतदाता अहिले अलमलमा छन् । दुधपोखरीकी विष्णुमाया गुरुङ पनि मतदानबारे जानकार छैनन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सृजना मिश्रले यसपटक मतदाता शिक्षा कार्यक्रम नराखिएको बताउनुभयो ।

मतदान गर्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी हुने भएकाले आयोगबाट यो कार्यक्रम हटाइएको उहाँको भनाइ छ । मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमुना मतपत्र आइसकेको भए पनि उम्मेदवार प्रचारमै व्यस्त हुनुपरेकोले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको उम्मेदवारले बताएका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा एक हजार नौ मत बदर भएको थियो ।