जनता टाइम्स

२२ बैशाख २०७९, बिहीबार १२:०१

एक वर्षभित्र ललितपुरलाई प्लाष्टिक र फोहरमुक्त शहर बनाउँछौं : मञ्जली शाक्य


सञ्जिता नेपाल, ललितपुर । ललितपुर महानगरपालिकाको भित्रि भागमा जन्मेर हुर्किनुभएकी मञ्जली शाक्य (आस्था) अहिले नेकपा एमालेबाट महानगरमा उपप्रमुखकी उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धन दलहरुले भागभण्डाका नाममा दुबै पदाधिकारीमा पुरुष उठाइरहँदा एमालले भने महानगरका नागरिकको दुःख र सुखमा साथ दिँदै आउनुभएकी सशक्त महिलालाई उम्मेदवार बनाएको छ ।

पार्टीको महानगर कमिटि अध्यक्ष उहाँ महानगरका समस्या मात्रै बुझ्नुभएको छैन त्यसको समाधानका बारेमा समेत योजना बनाउनुभएको छ । उपउप्रमुख न्यायिक समितिको प्रमुख हुने भएकाले महिलालाई कानुनी शिक्षा दिने गरी केन्द्र सञ्चालन गर्ने उहाँको योजना छ । कतिपय महिला हिंसामा परेका छन् तर उनीहरुले न्याय पाएका छैनन् । कतिपयले भने कानुनको ज्ञान नपाएर पनि अपराध गरिरहेका छन् । उपप्रमुख न्यायिक समिति प्रमुख हुने भएकाले आफूले महिलालगायत आबश्यक वर्गलाई कानुनी ज्ञान दिने कार्यक्रम चलाउने उहाँले बताउनुभयो । सुत्केरी महिला र नवजात शिशुलाई लक्षित गरेर पोषण दिने कार्यक्रम पनि अघि बढाइने लक्ष्य रहेको छ ।

गठबन्धनका कारणले संविधानले व्यवस्था गरेको महिलाको अधिकार खुम्चिन लागेको अवस्थामा आफू सबै महिलाको साझा उम्मेदवार भएको उहाँको भनाइ छ । आफू देश परिवर्तनका लागि लामो समयदेखि लागेको र त्यस क्रममा महिला, ज्येष्ठ नागरिक, बालबालिका सबैका इस्यु नजिकबाट नियालेको उहाँले बताउनुभयो । शासकले कम ध्यान दिइरहेको समुदायको हितमा केही काम गरेर देखाउँछु भन्ने उहाँ प्रतिबद्ध हुनुहुन्छ ।

महानगर कमिटिको अध्यक्ष भएकाले पनि यहाँको सबै वडासँग जोडिएको र जनताको समस्या बुझेको उपप्रमुखका उम्मेदवार शाक्यले बताउनुभयो । सबै श्रमिक मजदुरको प्रतिनिधित्व गरेर निर्वाचनमा उम्मेदवार भएको र महानगरका सबैको आशाको केन्द्र बन्ने उहाँको भनाइ छ । नागरिकको मौलिक हक कार्यान्वयन नै एमालेका उम्मेदवारको पहिलो प्राथमिकता रहेको छ ।

शिक्षा, स्वास्थ्य र खानेपानी नागरिकलाई पुर्याउने कुरामा ध्यान दिइने उहाँले बताउनुभयो । नगरका कतिपय भित्रि बस्तीमा धारामा कहिल्यै पानी नआउने समसस्या रहेको छ । सबै नागरिकलाई पानी खुवाउने उहाँको योजना छ । सरसफाईको विज्ञ राखेर परियोजना अघि बढाउने र फोहोरलाई मोहर बनाउने योजना कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षभित्र प्लाष्टिक मुक्त र फोहर मुक्त शहर बनाउँछौँ ।”

शहरलाई सुन्दर र सफा बनाउनकै लागि भित्री शहरमा विद्युतीय गाडि चलाउने योजना उहाँले सुनाउनुभयो । त्यसका लागि बिभिन्न देशसँगको सहकार्यमा कार्यक्रम अघि बढाउने गरी छलफल भइरहेको छ । चक्रपथभन्दा बाहिरी क्षेत्रमा पार्किङको व्यवस्था गरिनेछ । त्यस्तै, पर्यावरणको संरक्षणका लागि ५० लाख बिरुवा रोप्ने योजना उहाँको छ ।

को हुन आस्था शाक्य ?

हाल पार्टीको नगर कमिटि अध्यक्ष उम्मेदवार शाक्य नेकपाको निरन्तरताका रुपमा एमालेमा नै रहनुभयो । अहिले महानगरमा धेरैभन्दा धेरैलाई पार्टी प्रवेश गराउन उहाँ जुझारु रुपमा लाग्नुभएको छ । उहाँ बिसं. २०५७/५८ देखि भूमिगत हुनुभएको थियो । १२ कक्षा सकेर स्नातक पढ्दापढ्दै पढाई र घर सबै छाडेर उहाँ ‘पूर्णकालीन सदस्य’ हुनुभयो । उहाँ पार्टीमा सक्रिय हुँदै क्रान्तिकारी माओबादि र नेकपा माओबादिको केन्दीय सदस्य हुनुभयो । नेकपाको एकतामा केन्दीय सदस्य हुनुभएको उहाँ पार्टी सानो र चुस्त बनाउनुपर्ने भएकाले प्रदेश कमिटि सदस्य हुनुभयो ।

“जनताको सेवा गर्न माथि गएर मञ्चमा भाषण मात्रै गर्नुभन्दा कार्यकारी पदमा बसेर केही गर्नुपर्छ भन्ने लागेर त्यसपछि पालिकाको अध्यक्ष भएँ”, उहाँले भन्नुभयो, “अहिले म सबै टोलमा पुगेको छु र जनताको कुरा बुझेको छु ।” सानैदेखि राजनीतिमा चासो भएकी उहाँको विद्यार्थीदेखि नै राजनीति जीवन शुरु भयो । एसएलसी सकेर ११ पढ्दाददेखि नै राजनीतिमा लागेको उहाँले बताउनुभयो । महानगरपालिका १६ मा जन्मनुभएकी उहाँलाई पहिलेदेखि नै समाज र देश परिवर्तन गर्नुपर्छ भन्ने सोचाई भित्रैबाट थियो । बिद्रोही स्वभावको भएकाले जतिसक्दो चाँडो परिवर्तन ल्याउनुपर्छ भन्ने लागेकाले राजनीतिमा लागेको भएको उहाँले बताउनुभयो ।

उहाँका मावली हजुरबुबा गणेशमान सिंहसँग नजिक हुनुहुन्थ्यो । पारिवारिक रुपमा नेपाली काङ्ग्रेसका बारेमा सुन्दै हुर्किए पनि उहाँलाई त्यो पार्टीले समाज परिवर्तनका लागि तत्काल केही गर्छ भन्ने विश्वास लागेन । सानैदेखि देख्दै आएको काङ्ग्रेसी वातावरण मन परेन । उनीहरुको चुनाबी प्रचार भड्किलो थियो र त्यो गरेपछि कसरी देश विकास हुन्छ र भन्ने लाग्थ्यो । त्यसैले उहाँले बामपन्थी राजनीति रुचाउनुभयो । पार्टीका बिभिन्न पदमा रहेपनि अहिलेसम्म कुनै पदमा रहेर जनताको सेवा नगरेकाले त्यो गर्ने इच्छा छ । नागरिकको आफू आशाको केन्द्र बनेको महसुस गर्नुभएको छ । मैले गर्नसक्छु भन्ने विश्वास पनि छ ।