बुटवल, २२ बैशाख । ‘आयो एमाले आयो रातो सुर्यलाई लिएर’ बोलको गित सुनेपछि झोलुङगे पुलका प्रेम प्रसाद नेपाल घर बाहिर निस्किनुभयो । सयौंको संख्यामा वाजागाजासहित नांच्दै आएका एमाले कार्यकर्ता देखेर बृद्ध नेपाल खुसीले गद्गद् हुनुभयो । घर अगाडी उभिएका उनलाई नेकपा एमालेका तर्फबाट बुटवलका नगरप्रमुख बावुराम भट्टराईले नमस्कार गर्नुभयो र भन्नुभयो–मलाई चिन्नु भयो ? बृद्ध नेपाल अलमलमा पर्नुभयो ।
उहाँले ठम्याउन नसकेपछि उम्मेदवार भट्टराइले फेरि भन्नुभयो,‘म आयु बाबुराम भट्टराई’ । बृद्ध नेपालका मुहारमा खुसीको सिमा रहेन । उहाँले गर्लम्म अंगालो हाल्नुभयो । खासमा उम्मेदवार भट्टराई र बृद्ध नेपालकाबीच बर्षौ पुरानो चिनजान रहेछ । नगर प्रमुख पदका उम्मेदवार वावुराम भट्टराई भन्ने सुनेपनि बृद्ध नेपाललाई उहाँ ‘आयु’ बाबुराम भट्टराई हुन् भन्ने थाहा रहेनछ । चिरपरिचित ब्यक्ति नगर प्रमुखका उम्मेदवार रहेको थाहा पाएपछि बृद्ध नेपाल उम्मेदवारको पछि लागेर घरदैलोमा हिंड्नुभयो ।
२ दिनअघि मात्रै अमरपथ क्षेत्रको घरदैलोमा हिंडेका बेला त्यहांका पुराना ब्यवसायि कृष्णध्वज श्रेष्ठसंग उम्मेदवार भट्टराईको भेट भयो । ब्यवसायी श्रेष्ठले पनि उम्मेदवार भट्टराइलाई नचिनेपछि एमाले कार्यकर्ताले ‘आयु’बाबुराम भट्टराई भनेर चिनाउनुभएको थियो । ‘आयु’ बाबुराम भट्टराई उम्मेदवार भएको थाहा पाएपछि श्रेष्ठले उहाँलाई फूलमालाले स्वागत गर्दै शुभकामना दिनुभएको थियो ।

नेकपा एमालेका तर्फबाट बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई बुटवलका चिरपरिचत ब्यक्ति मात्र होइनन् सफल ब्यवसायि र समाजसेवी पनि हु्न् । उहाँलाई बुटवल भित्र र वाहिरका अगुवाहरुले ‘आयु’ बाबुराम भट्टराई भनेर चिन्छन् । बुटवलको अस्पताल लाइन पारिपट्टि उहाँको ‘आयु’ मेडिकल हल थियो । आयु मेडिकल हलकै कारण उहाँलाई आयु बाब्राम भनेर चिन्न थालियो ।
उक्त मेडिकलमा ३० को दशकदेखि नै भट्टराईले विशेषज्ञ डाक्टरहरुमार्फत सेवा दिने गर्नुभएको थियो । ‘बुटवल भित्र र बाहिरका अधिकांश नागरिकले बाबुरामको आयु मेडिकलबाटै सेवा लिन्थे’ बरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले भन्नुभयो । बुटवलको आधा भन्दा बढी जनसंख्याले आयु मेडिकलबाटै स्वास्थ्य सेवा लिन्थे । अत्यन्तै सरल स्वभावका भट्टराई स्वास्थ्यकर्मी पनि हो ।
उहाँले सरकारी अस्पतालका विकृति विसंगति र स्वास्थ्यकर्मीका अधिकारका लागि थुप्रै आन्दोलनहरुको नेतृत्व समेत गर्नुभएको छ । ‘गुल्मी, अर्घाखांची, पाल्पा र स्याङ्जाबाट उपचारका लागि आउने सयौं बिपन्न नागरिकको निःशुल्क उपचार गरेर पठाउंथे’— बुटवलका पुराना ब्यवसायी मोति पाण्डेले भन्नुभयो । बाबुराम अगाडी भएको ठाउंमा पैसाको अभावले कसैले ज्यान गुमाउनु पर्दैनथ्यो ।

अस्पताल भित्र स्वास्थ्यकर्मीहरुले लापर्वाही गरेको, विपन्नहरुको स्वास्थ्य उपचारमा असहयोग गरेको थाहा पाउने वित्तिकै अस्पतालभित्र पसेर ब्यापक दवाव सिर्जना गर्थे । ‘ अस्पतालका डाक्टरहरुले बदमासी गरे वा औषधिमूलो गर्न पैसा भएन भने ‘आयु’ बाबुरामकोमा जानु न्याय पाइन्छ भन्ने मान्यता थियो । स्वास्थ्य क्षेत्रमा अगुवाई गर्दै आउनुभएको उहाँलाई २०६१ सालमा सरकारले लुम्विनी अञ्चल अस्पतालको अध्यक्षमा नियुक्त गरेको थियो ।
आफ्नो कार्यकालमा उहाँले अस्पतालको आमूल परिवर्तन गर्नुभयो । लुम्विनी अञ्चल अस्पतालकी तत्कालीन स्वास्थ्यकर्मी सकुन्तला आचार्य भन्नुहुन्छ,‘लुम्विनी अस्पतालको सुधारमा बाबुराम दाइको जस्तो योगदान अरु कसैको छैन ।’ बुटवलका पुराना पुस्ता र ब्यवसायी बृत्तमा ‘आयु’ बाबुराम नगर प्रमुखका उम्मेदवार भएको खवरले उत्साह छाएको छ ।
बुटवलको मुटुमा बसेर समाजसेवा गरेका ब्यक्तिलाई एमालेले उम्मेदवार बनाएको प्रति बुटवलका पुराना कांग्रेसहरुले समेत गौरवको विषय भनेका छन् । कांग्रेस समर्थित एक ब्यवसायीले बाबुरामलाई एमालेले न्याय गरेको प्रतिक्रिया दिनुभयो । निर्वाचन प्रचार कार्यक्रममा हिंड्नुभएको भट्टराइलाई नयां मतदाताहरुले पनि ‘आयु वावुराम’ भनेर चिन्न थालेका छन् ।













प्रतिक्रिया दिनुहोस्