जनता टाइम्स

२४ बैशाख २०७९, शनिबार १४:४५

पोखरामा पाँच वर्षमा धेरै काम गरेका छौं, बाँकी रहेको काम अब पूरा गर्छौ : मञ्जुदेवी गुरुङ


पोखरा, बैशाख २४ । पोखरा महानगरपालिकाका निर्वतमान उपमेयर मञ्जुदेवी गुरुङले महानगरको समृद्धि टाढा नभएको बताउनु भएको छ । पाँच वर्षमा पोखरामा संघियता कार्यान्वयन र समृद्धिको जग बसेकाले समृद्धिको यात्रामा महानगर अगाडि बढेको उहाँको भनाइ छ ।

दोस्रो पटक उममेयरमा उम्मेदवारी दिनुभएकी गुरुङले महानगर बनेपछि पहिलो पटक निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि देखिने गरी महानगरमा काम भएको बताउनु भयो । ‘जनताले देख्ने र अनुभूति गर्ने गरी यो पाँच वर्षमा धेरै काम गरेका छौं’, गुरुङले भन्नुभयो,‘ हामीले जनतासामु गरेको प्रतिवद्धता अनुरुप बाँकी रहेको काम अबको कार्यकालमा पूरा गर्छौ ।’

भौगोलिक रुपमा देशकै ठूलो महानगरपालिका र यसको भिन्न भिन्न भौगोलिक विशेषता भएकाले सोही अनुसार योजना बनाएर काम गरिएको गुरुङको भनाइ छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङसहित ३३ वटा वडा मध्ये २२ वटा वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका थिए । २०१५ सालमै नगर घोषणा भएको पोखरा, २०३१ सालमा विस्तार भएको पोखरा, २०५४ सालको लेखनाथ नगरपालिका र २०७३ सालमा गाभिएका १० गाविस मिलेर महानगर बनेको हो । ‘भूगोल अनुसार जनताका चाहना पनि फरक फरक छन्’ उहाँले भन्नुभयो,‘ जनताको इच्छा, चाहना र आवश्यकता अनुसार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरेका छौं, यो पोखरेली जनतासमक्ष छर्लंग छ ।’

विकटलाई निकट ल्याउन २७ वटा कनेक्टिङ सडक निर्माण गरिएको र ती सडक मध्ये केही कालो पत्रे भएका छन् भने केहीमा १२ महिना सवारी साधन चल्ने अवस्था रहेको गुरुङले जानकारी दिनुभयो । पाँच वर्षको अवधिमा पूर्वाधारलाई जोड दिएर आधुनिक र प्रविधि युक्त वडा कार्यालय भवन निर्माण गरिएको उहाँको भनाइ छ । गुरुङका अनुसार संस्थागत रुपमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षाका क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । ज्येष्ठ नागरिक, बालकालिका, र विपन्न असहायहरुलाई सहयोग गर्ने गरी महानगरले काम गरेको गुरुङले बताउनुभयो ।

फोहोर व्यवस्थापन गर्न ल्यान्डफिल साइट निर्माणको लागि जग्गाको निर्धारण, सहरका चोकहरु फराकिलो पारिएको, पार्कहरु निर्माण लगायत थुप्रै कामहरु भएको उहाँले बताउनुभयो । ‘पहिलो वर्ष कानुन निर्माणपछि दोस्रो वर्षमा कामले गति लिनै लाग्न कोरोनाले असर गर्यो,’ उहाँले भन्नुभयो,‘ त्यसका बावजुद पनि हामीले देखिने गरी काम गरेका छौं, यसको मुल्यांकन पोखरेली जनताले गर्नुहुनेछ ।’ गुरुङका अनुसार सहरका सडकमा अस्फाल्ट प्रविधिको पीच गरिएको र आफ्नै लगानीमा मोटेरेबल पुल निर्माण भएका छन् । जनतालाई घर आँगनमै सेवा प्रवाह गर्न वडा कार्यालयलाई अधिकार युक्त बनाइएको बताउँदै उममेयरका उम्मेदवार गुरुङले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन हरसम्भव प्रयास गरिएको बताउनुभयो ।

विपन्न र असहायलाई उद्यामसँग जोडेर रोजगार र स्वरोवजगार बनाउन उपमेयरसँग महिला कार्यक्रम सञ्चालन गरिएको र त्यो कार्यक्रम निकै प्रभावकारी भएको उहाँको भनाइ छ । जनतालाई सुलभ र छिटो छरितो न्याय दिन महानगरको न्यायिक समितिले प्रभावकारी ढंगले काम गरेको र देशमै उदाहरणीय भएको उहाँको भनाइ छ । महानगरमा हप्तामा २ दिन इजलास बस्ने गरेको उहाँले सुनाउनु भयो । गुरुङको नेतृत्वमा पोखरामा गत चैत १४ गते न्यायिक समितिको राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको हो ।

सार्वजनिक निजी साझेदारी अवधारण स्थापित गरी केही परियोजनाहरु कार्यान्वयनका चरणमा पुगेको उहाँको भनाइ छ । समृद्ध महानगर बनाउने जग बसेकाले अघिल्लो निर्वाचनमा जनतासँग गरेको प्रतिवद्धता अनुसार बाँकी रहेका कामलाई अब पूरा गरी छाड्ने अठोट गुरुङको छ । पोखरालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना पनि अगाडि सारिएको गुरुङले बताउनुभयो । निर्वाचित भएपछि पाँच वर्षमा पूरा हुन नसकेका पूर्वाधार निर्माणका काम, भौतिक र मानवीय विकासलाई ध्यानमा राखेर काम गर्ने उहाँको भनाइ छ ।

२०७४ को स्थानीय तह चुनावमा मञ्जुले ५६ हजार ४ सय ४८ मत पाउँदा नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाउनु भएको थियो । यस पटक २० हजार मतान्तरले जित्ने मञ्जुको दाबी छ । ‘पहिले ६० हजार हारहारीमा मत ल्याएर विजयी भयौं, यस पटक ८० हजार भोट ल्याएर २० हजार मतान्तरले हामी चुनाव जित्छौँ,’ उहाँको भनाई छ । नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उममेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । थापा यस अघि उपमहानगर हुँदा २०५४ सालमा मेयरमा निर्वाचित हुनु भएको हो ।

गुरुङको राजनीतिक यात्रा

२०३६ सालको विद्यार्थी आन्दोलनबाट उहाँ प्रभावित हुनु भएको हो । २०१८ साल मंसिर १६ गते जन्मनु भएकी गुरुङको २०३८ सालमा विवाह भयो र राजनीतिमा क्रियाशील हुन पाउनु भएन । उहाँले पर्वत आर्थर डाँडाखर्कका मेखबहादुर गुरुङसँग विवाह गर्नुभयो । विवाह भएको ११ वर्षपछि ०४९ साल साउनमा श्रीमान्को जहाज दुर्घटनामा परेर निधन भयो ।

मञ्जुदेवी नेकपा एमालेमा संगठित भएको भने साढे दुई दशक अघिदेखि नै हो । ०५५ मा वडा कमिटीबाट उहाँ राजनीतिमा प्रवेश गर्नुभएको हो । तर, त्यो भन्दा अघि नै एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) मा उहाँ आवद्ध हुनु भएको थियो । २०५० मै अखिल नेपाल महिला संघको सदस्यता लिएको मञ्जुले बताउनुभयो । उहाँ अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले अखिल नेपाल महिलासँग र पाटीका विभिन्न तहमा रहेर काम गरिसक्नुभएको भने उहाँ विभिन्न सामाजिक संस्थामा पनि आवद्ध हनुहुन्छ ।