जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार १३:२७

इलाममा १७ वर्षीया किशोरी बलात्कृत


इलाम, २५ वैशाख । इलाममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बा।५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेपछि किशोर फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनालाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगाना रहेका छन् । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।