बुटवल, २५ वैशाख । एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताउनुभएको छ । बुटवलमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताउनुभयो ।
सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ । जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन गर्नुपर्ने उहाँले बताउनुभयो । एमाले युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरु विगतमा ४२ वटा उद्योग बेचेर खाएको ओलीले बताउनुभयो । अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थाल्दा परमादेशबाट सरकार ढालेर भूमिहीन आयोग खारेज गरेको ओलीले आरोप लगाउनुभयो ।

उहाँले देशभरका स्थानीय तहमा एमालेको विजय मात्र नभई दिग्विजय भएको बताउनुभयो । ओलीले अहिले १० वटा स्याल एकातिर र एउटा शेर अर्कोतिर रहेको भन्दै एउटै शेरेले १० वटा स्यालको सिकार गर्ने बताउनुभयो । पाँचदलीय गठबन्धन छ भन्ने कुराको जनताले मतलबै नराखेको ओलीले बताउनुभयो ।
एमालेले चुनाव हारे जनताले पाउने सेवा रोकिने र विकासका योजना पनि रोकिने भएकाले एमालेको विजय अपरिहार्य रहेको उहाँको भनाइ छ । भैरहवा, पोखरालगायतका अन्तर्राष्ट्रिय विमानस्थल एमालेकै नेतृत्वमा बनेका, वर्षौसम्म रहेका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापन गरेको उहाँले दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्