जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार ११:२८

प्रचण्डसँगको सहकार्य देउवालाई महंगो सावित : माओवादीले फेरि गरे कांग्रेस कार्यकर्तामाथि आक्रमण


काठमाडौं, बैशाख २७ । मित्रवत प्रतिस्पर्धा गर्ने लिखित सहमतिमा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै रुकुमको आठबीसकोटमा कांग्रेस र माओवादी कार्यकर्ताबीच फेरि झडप भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम स्रोतका अनुसार आठबीसकोट नगरपालिका १० को घारीखोलामा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्दा झडप भएको हो ।

कांग्रेसको घरदैलोका क्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रमणपछि कांग्रेस कार्यकर्ताहरु प्रयोग गरेको मोटरसाईकल छोडेर भागेका थिए । यसरी छाडिएको मोटरसाइकलमा माओवादी कार्यकर्ताले आगजनि गरेका छन् । कांग्रेस कार्यकर्ताले छाडेको भे८प ३६२० नम्बरको माटरसाईकलमा माओवादी कार्यकर्ताले आगो लगाइदिएका छन् ।

भे७प ३०६५ नम्बरको मोटरसाईकल रोडबाट खेतमा खसालिएको छ । यस्तै रा ४ प १८७० नम्बरको मोटरसाइकल र लु१ ज २६६१ नम्बरको जिपमा पनि तोडफोड गरिएको छ । यसअघि नेकपा माओवादी कार्यकर्ताले गरेको सांघातिक आक्रमणका कारण रुकुम पश्चिममा मात्रै दुई दर्जनभन्दा बढी कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।