जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ०५:१४

को बन्ला पोखराको पन्ध्रौं मेयर ? यस्तो छ इतिहास


पोखरा । २०१६ सालमा नगर पन्चायतको रुपमा गठन भएको पोखरा हाल देशकै ठूलो महानगरको रुपमा स्थापित भएको छ । पहिलो मेयर बनेका थिए शिवबहादुर थापा । उहाँले २०१६ देखि ०१८ सम्म कार्यभार सम्हाल्नुभयो । २०१९ सालमा नगेन्द्रबहादुर रायमाझी मेयर बने । उहाँले ५ वर्ष काम गर्नुभयो । त्यसपछि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । चौंथो मेयरको रुपमा काम गरेका रुद्रबहादुर कार्कीको केही महिनाअघि मात्रै निधन भएको छ । उहाँ २०२८ देखि २०३१ सम्म मेयर हुनुहुन्थ्यो ।

पोखराको पहिलो गुरुयोजना उहाँकै कार्यकालमा बनेको थियो । कार्कीकै कार्यकालमा बनेको गुरुयोजना अनुसार हाल निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल, न्युरोड, पोखरा बसपार्क लगायतको जग्गा अधिग्रहण गरिएको हो । तर अधिकांश योजना कार्यान्वयनमा गएको छैन ।

२०३१ देखि ०३२ सम्मको अवधी दीलिपकुमार पालिखे मेयर बने भने सबैभन्दा कम अवधीका लागि रमेशबहादुर भट्टराई जम्मा ७ महिना मेयर बने । गणेश शेरचन २०३२ देखि २०३८ सम्म, श्रीप्रसाद गुरुङ २०३८ देखि ०३९ सम्मको मेयर भएर काम गर्नुभयो । २०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन मेयर भए । सूर्यबहादुर केसी २०४१ देखि २०४६ को मेयर बने । २०४९ सालमा पहिलो पटक स्थानीय निकायको चुनाव भयो । जहाँ राजनीतिक दलहरु प्रतिश्पर्धामा थिए । कांग्रेसका भोला थापा ५ वर्षका लागि पोखराको दशौं मेयर निर्वाचित हुनुभयो । उहाँकै कार्यकालमा पोखरा नगरपालिकाबाट उपमहानगरपालिका बनेको थियो ।

२०५४ सालमा एमालेका कृष्णबहादुर थापा निर्वाचित हुनुभयो । उहाँको कार्यकाल सकिएपछि देशमा स्थानीय निकायको निर्वाचन भएन । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गर्नुभयो । २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बने । नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४ औं मेयर भएर कार्यकाल व्यतित गरिसक्नु भएको छ ।

अहिले पोखराका लागि १५ औं मेयरको चुनाव हुँदैछ । पोखराको पन्ध्रौं मेयरका लागि एमालेका कृष्णबहादुर थापा जो २०५४ को मेयर निर्वाचित हुनुभएको थियो र पूर्व एमालेका धनराज आचार्य गठबन्धनबाट साझा उम्मेदवार हुनुभएको छ । उहाँहरु दुईमध्ये एकजनाले मेयरमा बाजी मार्नुहुनेछ । यहाँ २३ जना मेयरको प्रतिश्पर्धी छन् ।