जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ०७:२१

उम्मेदवारको मृत्युपछि दाङमा बुधबार मनोनयन दर्ता


दाङ, २८ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका – १७ का नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए। बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।

वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ ।

कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।