जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १३:४२

कांग्रेसको गढमा एमाले उम्मेदवार श्रेष्ठ बिजयी


तनहुँ, जेठ २ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै एमाले नेता श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार श्रेष्ठले चार हजार ९५० मत पाउनु भएको छ भने पराजीत रानाले चार हजार २३२ मत पाउनु भएको छ । म्याग्देमा १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । अघिल्लो पटक पनि म्याग्देको अध्यक्षमा यिनै दुईबीच चुनावी भिडन्त भएको हो । नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेद्वारी दिनुभएकी राना दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित हुने दाउमा भएपनि हारमा चित्त बुझाउनु परेको छ ।

गएको निर्वाचनमा म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा थियो । अध्यक्षमा मायादेवी रानाले चार हजार ५४२ ल्याउँदै एक हजार ८१ मतान्तरले एमालेका श्रीप्रसाद श्रेष्ठलाई पराजित गर्नुभएको थियो । यसपालिका श्रेष्ठले हारको बदला लिँदै जित दर्ता गराउनु भएको छ ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले पाँच हजार ३९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निटतम प्रतिद्वन्द्वी एमालेकी रत्नादेवी घिमिरेले चार हजार २०० मत पाउनु भयो । अघिल्लो पालि पनि यिनै दुईको भिडन्त थियो । तर दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ । गएको निर्वाचनमा बालकृष्णले चार हजार र रत्नादेवीले तीन हजार १५४ मत पाउनु भएको थियो ।

यसपालि म्याग्देमा एमालेले वडामा पनि नतिजा सुधार गरेको छ । वडा नम्बर १, ३ र ७ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २,४,५, ६ मा कांग्रेस उम्मेद्वार विजयी भएका छन् । वडा नम्बर १ को अध्यक्षमा मणिभद्र वाग्ले, २ मा शिवबहादुर क्षेत्री, ३ मा टुकराज अधिकारी, ४ मा दिपककुमार श्रेष्ठ, ५ मा शिवबहादुर आले, ६ मा हिरालाल गुरुङ र ७ मा बसन्तकुमार श्रेष्ठ विजयी हुनुभएको छ । अघिल्लो पटक म्याग्देको वडा नम्बर २ र ६ मा एमालेले वडाध्यक्षमा जित हासिल गरेको थियो ।