जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १५:१६

दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्षमा पूर्वपत्रकार धामी निर्वाचित


दार्चुला, जेठ २ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित हुनुभएको छ । निर्वाचन परिणामअनुसार धामी ४ हजार ३४ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन् । अध्यक्षमा निर्वाचित धामी पूर्वपत्रकार हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ दार्चुला बैतडी संयुक्त शाखाका संस्थापक उपाध्यक्ष हुनुहुन्छ । धामीले दुई दशक भन्दा लामो समय पत्रकारिता गर्नुभएको छ । पत्रकारिता छाडेर उहाँ राजनीतिमा होमिनुभएको हो ।

यस्तै उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित हुनुभएको छ । उहाँ ३ हजार ५६६ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याउनु भयो ।