जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १३:०९

पूर्वमन्त्री पार्वत गुरुङ्गको वडामा गठबन्धन पत्तासाफ, वडाध्यक्षसहित एमालेको प्यानल नै बिजयी


दोलखा, जेठ ३ । पूर्वसञ्चार मन्त्री पार्वत गुरुङ्गको गृहनगर गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सूरीमा एमालेको सिंगो प्यानल नै बिजयी भएको छ । भर्खरै सम्पन्न मत गणनाको परिणाम अनुसार एमाले उम्मेदवार सुन्दर खडका ८ सय २२ मत प्राप्त गरी वडाअध्यक्षमा बिजयी हुनुभएको हो ।

खडकासँग एमालेबाटै बिद्रोह गरी पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएका नवराज खडकाले ४ सय ७४ मत ल्याउनु भएको छ भने पाँच दलीय गठबन्धनका वडाध्यक्षका उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका दिनेश गुरुङ्गले ३ सय २० मत पाउनु भएको छ । पूर्वमन्त्री गुरुङ्गको वडामा पालिका अध्यक्ष र उपाध्यक्षमा पनि एमालेले फराकिलो अग्रता कायम गरेको छ ।

पालिका अध्यक्षमा एमालेको पक्षमा १ हजार ८६ मत र उपाध्यक्षमा ९ सय २४ मत आएको छ । कुल १८ सय ४४ मत खसेकोमा २ सय ४२ मत बदर भएको छ । गौरीशंकर ५ सुरी एमाले पोलिटब्युरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री गुरुङसँगै बागमति प्रदेशकी पूर्वमन्त्री एवं एमाले दोलखाका इञ्चार्ज सरस्वती बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेतको गृहपालिका हो ।