जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार ००:००

पृथ्वीसुब्बा गुरुङको पालिकामा एमालेको ‘क्लिनस्वीप’


लमजुङ, ५ जेठ । क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका अध्यक्ष र सबै सदस्यमा एमाले विजयी भएको हो ।

बुधबार राति सकिएको मतगणना अनुसार नेकपा एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँपालिका (क्व्होलासोंथार) अध्यक्षमा एमालेका सूर्यप्रसाद गुरुङ विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङलाई १ हजार ३ सय ६७ मतले हराउँदै आगामी ५ वर्षका लागि क्व्होलासोंथार गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सूर्यप्रसादले ३ हजार ८ सय ५६ मत ल्याउनुभएको छ भने प्रतिद्वन्द्वी टेकबहादुर गुरुङले २ हजार ४ सय ८९ मत पाउनुभएको छ । अध्यक्षमा मंगोल नेश्नल अर्गनाइजेशनमा भुवरजंग गुरुङले ५१ मत प्राप्त गर्नुभएका

छ । उपाध्यक्षमा गमीमाया गुरुङ निर्वाचित हुनुभएको छ । कांग्रेस उम्मेदवार सिर्जना गुरुङलाई १ हजार ६ सय ४९ मतान्तरमा उपाध्यक्ष हासिल गर्नुभएको हो । गमीमायाले ३ हजार ९ सय ८९ मत पाउनुएको छ। सिर्जनाले २ हजार ३ सय ४० मत पाएको निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

वडाअध्यक्षतर्फ वडा नं. १ मा पेमा गुरुङ, वडा नं. २ मा खुसीमान गुरुङ, वडा नं. ३ मा आसबीर गुरुङ, वडा नं. ४ मा नारायण गुरुङ, वडा नं.५ मा गीतबहादुर गुरुङ, वडा नं.६ मा मनलाल गुरुङ, वडा नं.७ मा लक्षुमन गुरुङ, वडा नं.८ मा सन्तोष घले र वडा नं.९ मा हुमराज गुरुङसहित सबै सदस्य एमालेले जितेको छ ।२०७४ को स्थानीय चुनावमा क्व्होलासोंथर २ र ८ को अध्यक्ष र केही सदस्य कांग्रेसले जितेको थियो ।

यसपटक पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य गरी ९ वटै वडाका ४७ जना जनप्रतिनिधि नै एमालेका उम्मेदवार निर्वाचित भएको सहायक निर्वाचन अधिकृत त्रिलोकचन्द्र गुरुङले बताउनुभो। सबै पदमा एमाले मात्रै निर्वाचित भएको र कांग्रेसलगायत अन्य कुनै पनि पार्टी कुनै पनि पदमा निर्वाचित नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।