जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार ११:२६

गठबन्धनको चक्रब्यूँह तोडदै बाराको निजगढमा एमालेको ‘कमब्याक’


इन्दिप कोइराला, बारा । बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ । एमालेको बलियो पकड मानिँदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्गले जित हात पार्नुभएको हो ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले विरासत फिर्ता गरेको हो । मेयर पुरीले ९४७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सुरोस खनालले ८६५९ मत पाउनु भएको छ । यसैगरी उपमेयरमा एमालेकी सोममाया थिङ्गले ८६५९ मत प्राप्त गर्दा गठबन्धनका रवि राज दङ्गाले ८५१८ मतमा चित्त बुझाउनु परेको छ ।

२०४२ देखि निजगढमा पकड जमाउदै आएको एमालेले गत स्थानीय निर्वाचनमा नगर प्रमुख पद भने गुमाउनु परेको थियो । १३ वटा वडा रहेको निजगढमा ०७४ को निर्वाचनमा उपप्रमुखसहित ८ वडाध्यक्ष एमालेले जितेको थियो । मेयरमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट चुनाव लडेका सुरेश खनाल विजयी हुनुभएको थियो । यो निर्वाचनमा पनि गठबन्धनबाट प्रतिस्पर्धी रहेका खनाललाई एमालेका पुरीले पराजित गर्नुभएको हो ।

२०४३ को गाउँ पञ्चायत निर्वाचनमा यहाँ एमालेका पुरुषोत्तम पौडेल प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । त्यसयता ०७४ को स्थानीय तहको चुनाव बाहेक सबै निर्वाचनमा एमालेले नै पकड जमाउदै आएको छ । ०४९ र ०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा एमालेका उम्मेदवार विजयी बनेका थिए ।

एमालेले यसपटकको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १३ मध्ये ५ वडाध्यक्ष जितेको छ । एमाले वडा नम्बर ३, ५, ६, ७ र १० गरी पाँचवटा वडामा विजयी भएको छ । कांग्रेस अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नम्बर २, ४, ९ र ११ सहित वडा नम्बर १०, १२ र १३ मा पनि जित हात पारेको छ । एमालेले भने यसअघिको निर्वाचनमा कांग्रेसले जितेको वडा नम्बर १० मात्रै हात पारेको छ ।