जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १२:०८

कांग्रेस महामन्त्री गगन थापालाई निर्वाचन क्षेत्रमै ठूलो धक्का : काठमाडौं-४ मा पर्ने सबैजसो वडामा सर्मनाक पराजय


काठमाडौं, जेठ ५ । गत २०७४ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले जितेको छ ।

कांग्रेस महामन्त्री थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडामा कांग्रेस पराजीत भएको हो । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् । यी सवै वडाको वडाध्यक्ष एमालेले जितेको छ । यस्तै बूढानीलकण्ठको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा एमालेका सुरेन्द्र लामाले ८४५ मत ल्याएर विजयी बन्दा काँग्रेसका उम्मेदवार उत्तम खड्काले ४७३ मतमासिमित हुनपरेको छ भने वडानम्बर २ एमालेकै राजेन्द्र श्रेष्ठ ११६० मतले निर्वाचित हुँदा काँग्रेस उम्मेदवार जनक थापा १०८३ मतमा चित्त बुझाउन बाध्य हुनुपरेको छ । यस्तै वडानम्बर ८ मा सुमन तामाङ, ९ मा सुमित्रा त्रिपाठी र १० मा नवराज भट्टराई निर्वाचित हुनुभएको छ ।

वडानम्बर ८ मा एमालेका तामाङले १५२२ मत ल्याउँदा काँग्रेस वडाध्यक्षका उम्मेदवार राजाराम थापाले १०६८ मत मात्रै पाउनु भयो । ९ नम्बरमा एमालेकी त्रिपाठी ९४८ मतसहित विजयी बन्दा काँग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत मात्र पाउनु भयो । १० नम्बर वडामा एमालेकै नवराज भट्टराईले २५८१ मत ल्याएर विजयी बन्दा काँग्रेसका डोरप्रसाद आचार्यले १३११ मत मात्रै पाउनु भएको छ । ११ नम्बर वडामा एमालेका राजु अधिकारी १२९३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेस उम्मेदवार राधेश्याम कार्कीले १२५५ मत पाउनु भएको छ ।

यस्तै १२ नम्बर वडामा शम्भु भट्टराई र १३ मा टीकानारायण श्रेष्ठले क्रमश १३७९ र १६८७ मत ल्याएर निर्वाचित बन्दा काँग्रेसका सुनित चालिसे र भरत श्रेष्ठले क्रमश ११४२ र १४७३ मत मात्र पाएर चित्त बुझाउनु परेको छ । बूढानीलकण्ठका ८ वटै वडा बाहेक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौँ महानगरपालिकाको सार्वजनिक परिणाममध्ये वडानम्बर १ पनि एमालेले नै जितेको छ । यो वडामा एमालेका भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका किरण श्रेष्ठ ५९८ मतमा चित्त बुझाउन बाध्य हुनपरेको छ ।

२०७४ को संसदीय निर्वाचनमा काँग्रेसका थापा र एमालेका राजन भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला थापाले २१ हजार ५५८ मतसहित निर्वाचित हुनुभएको थियो । सो क्षेत्रमा एमालेका राजन भट्टराईले १८ हजार १४० मत पाएर पराजीत हुनुपरेको थियो ।