जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १२:३८

बिराटनगरको उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीको फराकिलो अग्रता, धेरै पछि परे गठबन्धनका उम्मेदवार


मोरङ, जेठ ५ । विराटनगर महानगरपालिकामा मेयरमा पछि परेपनि उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले फराकिलो अग्रता बनाउनु भएको छ । उपमेयरमा कार्कीले प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार भन्दा ६७३७ मतको अग्रता कायम गर्नुभएको छ ।

मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला झण्डै ५ हजार मतले अग्रता कायम गर्दा उपमेयरमा एमालेकी कार्कीले यति धेरै मतअन्तर बढाउनु भएको हो । अहिलेसम्म ५९८३० मत गणना उपमेयरमा एमालेकी कार्कीले १६५५२ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका जसपाका अरमेन्द्र यादवले भने ९८१५ मत मात्र पाउनु भएको छ ।

यस्तै राप्रपाकी विन्दाकुमारी लुइँटेलले ४४९३ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले भने ३५४९ मत ल्याउनु भएको छ । मेयरमा भने कांग्रेसका १९१७३ मतसहित अग्रता कायम राख्नुभएको छ भने एमालेका सागर थापाले १४३३८ मतसहित पछ्याइरहनु भएको छ ।

यस्तै राप्रपाका प्रल्हाद साहले ३७०० मत ल्याउनु भएको छ भने स्वतन्त्र उम्मेदवार उमेश यादवले ६१८७ मत पाउनु भएको छ । विराटनगरमा ८९६८९ मत खसेको छ । अव ३० हजार मत गन्न बाँकी छ ।