जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार ००:००

स्याङ्जामा आयो ११ ओटै पालिकाको परिणाम : गठबन्धनबीच एमाले पहिलो–कांग्रेस दोस्रो, अरु दल सून्य (सूचीसहित)


स्याङ्जा, जेठ ५ । स्थानीय तहको निर्वाचनमा स्याङ्जामा प्रमुख प्रतिस्पर्धी पार्टीका रुपमा नेकपा एमाले र नेपाली कांग्रेस मात्रै देखिएका छन । स्थानीय तह निर्वाचन परिणामले यस्तो तथ्य उजागर गरेको हो । चुनावी परिणाम आउँदा एमाले र कांग्रेस दुवैले एकअर्काको गढ भत्काउन सफल भएको छ ।

परिणामअनुसार नगरपालिकामा कांग्रेसको वर्चश्व देखिएको छ भने गाउँपालिकामा एमालेको बर्चश्व कायम भएको छ । मतगणनाको अन्तिम परिणम अनुसार स्याङ्जाका ११ पालिकामध्ये १० वटा पालिकामा प्रमुख र उपप्रमुखमा एउटै पार्टीबाट निर्वाचित भएका छन भने वालिङ नगरपालिकामा एमाले र कांग्रेस निर्वाचित भएका छन ।

नेकपा एमालेकी सचिव एवं गण्डकी इञ्चार्ज पद्मा अर्यालको गृहनगर वालिङमा कांग्रेसले स्मार्ट मेयर घोषणा गरेका दिलिपप्रताप खाँणलाई पराजीत गर्दै एमालेका कृष्ण खाँण बिजयी हुनुभएको छ । पूर्व मेयरसमेत रहनुभएका दिलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतले हराउँदै कृष्णले विजयको झण्डा फहराउनु भएको छ । वालिङ नेपाली कांग्रेसको गढ मानिन्छ । २०४९ सालदेखि यस पालिकामा कांग्रेसले जित्दै आएको थियो । वालिङमा यसपटक एमाले सचिव पद्मा अर्यालको जादु चलेको छ ।

एमाले गण्डकी इञ्चार्ज पदमा अर्यालले बिशेष योजना बनाएर कतिपय एमाले नेताहरुकै शब्दमा समेत ‘स्मार्ट मेयर’ लाई पराजीत गर्न सफल हुनुभएको छ । वालिङमा उपप्रमुखमा भने कांग्रेसकी कविता तिवारी विजयी हुनुभएको छ । एमालेकी खगिसरा थापालाई ४ सय ८२ मतले उछिन्दै उहाँ उपमेयरकी विजेता बन्नुभएको छ । खगिसराले २०७४ को स्थानीय तह निर्वाचनमा पनि कल्पनासँगै उपमेयरको प्रतिस्पर्धा गर्नुभएको थियो । बिगतमा जस्तै यसपटक पनि उहाँ पराजीत हुनुपरेको छ । २०७४ को स्थानीय निर्वाचनमा वालिङ नगर प्रमुख र उपप्रमुख कांग्रेसबाटै विजयी भएका थिए ।

कांग्रेसको गढ मानिने वालिङले पहिलोपटक आफ्नो साख गुमाएको छ । यस्तै चापाकोट नगरपालिकामा कांग्रेसबाटै मेयर र उपमेयर विजयी भएका छन । एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै कांग्रेसका देवबहादुर खाँण विजयी हुनुभएको छ । यस्तै उपमेयरमा एमालेका सृष्टि मल्ललाई १ हजार १३ मतले पछाडि पार्दै इशा राना विजयी हुनुभएको छ । यसभन्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा चापाकोटमा प्रमुख र उपप्रमुख कांग्रेसबाटै प्रतिनिधित्व थियो ।

अघिल्लो निर्वाचनमा मेयर र उपमेयर एमालेले जितेको पुतलीबजारमा भने यसपटक दुवै पद कांग्रेसले हात पारेको छ । मेयरमा प्रमुख प्रतिस्पर्धी एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउँदै तुलसीराम रेग्मी विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा तुलसीरामलाई हराउँदै सीमा मेयरमा निर्वाचित हुनुभएको थियो । यस्तै, उपमेयरमा ९ सय ४७ मतले एमालेका महेश पुरीलाई पछाडि पार्दै देवी अर्याल विजयी हुनुभएको छ । पुरी निवर्तमान उपमेयर हुनुहुन्छ । एउटा वडा आफूले लिनेगरी पुतलीबजारमा कांग्रेसलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।

यस्तै गल्याङ नगरपालिकामा पनि कांग्रेसले जितेको छ । २०७४ मा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेको प्रतिनिधित्व थियो । अहिलेको निर्वाचनमा कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा विजेता भएका हुन । जिल्ला अध्यक्ष समेत रहनुभएका एमालेका सूर्यप्रसाद गैह्रेलाई ६ सय ९९ मतले हराउँदै कांग्रेसका जिल्ला सचिव रहनुभएका गुरुप्रसाद भट्टराई विजयी हुनुभएको छ । यस्तै निवर्तमान उपमेयर एमालेकी देवीसरा थापालाई ६३ मतले पछि पार्दै उपमेयरमा हेमा न्यौपाने विजयी हुनुभएको छ । पुतलीबजार र गल्याङ दुवै एमालेको आधार क्षेत्र मानिन्छ । तर यसपटक ती क्षेत्र गुमाएको छ ।

यस्तै भीरकोट नगरपालिकामा पनि कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । मेयरमा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतले पछाडि पार्दै गोविन्दकुमार कर्माचार्य विजयी हुनुभएको छ । यस्तै उपमेयरमा एमालेकी सरस्वती अधिकारीलाई २ हजार २ सय ६९ मतले पछाडि पार्दै भगवती रेग्मी अर्याल विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा मेयर र उपमेयरमा विजयी भएको कांग्रेसले यसपटक पनि जितेको हो ।

अघिल्लो निर्वाचनमा अर्जुनचौपारी गाउँपालिका उपप्रमुख गुमाएको कांग्रेसले यसपल्ट कायम गरेको छ । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन । निवर्तमान उपाध्यक्ष समेत रहनुभएकी एमालेकी उम्मेदवार चिनमाया गुरुङलाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै अध्यक्षमा प्रकाश तिवारी विजयी हुनुभएको छ । यस्तै एमालेका टंकप्रसाद खनाललाई १ हजार ६० मतले पछाडि पार्दै सपना गुरुङ उपाध्यक्षमा विजयी हुनुभएको छ । अघिल्लो पटक अध्यक्ष पनि कांग्रेसबाटै निर्वाचित भएका थिए ।

एमालेले गाउँपालिकातर्फ भने बर्चश्व कायम गरेको छ । विरुवा गाउँपालिकामा २०७४ को निर्वाचनमा अध्यक्ष–उपाध्यक्ष जितेको एमालेले यसपल्ट पनि आफ्नो वर्चस्व कायम राखेको छ । विरुवा गाउँपालिकाका कांग्रेस सभापति समेत रहनुभएका डोलराज पोखरेललाइ १ सय २६ मतको अन्तरमा एमालेका एमालेका सूर्य कुँवर अध्यक्षमा विजयी हुनुभएको छ । यस्तै माओवादीका थमबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै उपाध्यक्षमा एमालेकै भगवती शर्मा विजयी हुनुभएको छ । यहाँ कांग्रेस र माओवादीको गठबन्धन थियो । एमालेको पकड क्षेत्र मानिने विरुवामा यसभन्दा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीको गठबन्धनलाई तोड्दै एमाले विजयी बनेको थियो ।

यस्तै आँधीखोला गाउँपालिकाले यसपटक पनि एमालेकै नेतृत्व पाएको छ । अघिल्लो निर्वाचनमा पनि अध्यक्ष र उपाध्यक्ष पदमा एमालेकै उम्मेदवार विजयी भएका थिए । यसपटक एमालेका विश्व पौडेलले काँग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पराजित गर्नुभएको छ । उपाध्यक्षमा एकीकृत समाजवादीका रामचन्द्रप्रसाद पौडेललाई १ हजार ४ सय ५६ मतले एमालेकी सीता थापाले पराजित गर्नुभएको हो । आँधीखोलामा नेकपा एकीकृत समाजवादी र कांग्रेसको गठबन्धन थियो ।

यस्तै कांग्रेस र माओवादीको गठबन्धन तोड्दै फेदीखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि एमालेका उम्मेदवार विजयी बनेका छन । कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १ सय ३२ मतले पछाडि पार्दै अध्यक्षमा एमालेका घनश्याम सुवेदी निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा माओवादीका शिवप्रसाद पराजुलीलाई १ हजार ५ सय ९९ मतले पछाडि पार्दै एमालेकी देउकुमारी गुरुङ निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा पनि फेदीखोलामा एमालेकै उम्मेदवार निर्वाचित थिए । सुवेदी अघिल्लो निर्वाचन पनि अध्यक्ष निर्वाचित हुनुभएको थियो भने गुरुङ ५ नम्बरकी वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि एमालेका उम्मेदवार विजयी भएका छन । अघिल्लो निर्वाचनमा पनि एमालेकै प्रतिनिधित्व थियो । पूर्व अध्यक्षसमेत रहनुभएका खिमबहादुर थापा पुनः अध्यक्षमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसकी माया रानालाई १ हजार ६ सय ४५ मतले पछि पार्दै थापा विजयी हुनुभएको हो । उपप्रमुखमा पनि सावित्रा कोइराला पुनः विजयी हुनुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेलाई १ हजार ३ सय ९३ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

कांग्रेस र माओवादीको गठबन्धनलाई तोड्दै हरिनासमा पुनः एमालेका खिमनारायण मानन्धर अध्यक्षमा विजयी हुनुभएको छ । मानन्धरले कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले हराउनु भएको हो । अघिल्लो निर्वाचनमा पनि गठबन्धनलाई हराउँदै मानन्धर विजेता बन्नुभएको थियो । यसैगरी उपाध्यक्षमा माओवादीकी मिठु लम्साललाई २४ मतले हराउँदै एमालेकी इन्द्रकुमारी थापा विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा पनि हरिनासमा अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । हरिनासमा दुईवटै निर्वाचनमा माओवादी र कांग्रेसले गठबन्धन गरेपनि पराजय हात लागेको छ ।

स्याङ्जा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र पूर्वउपसभापति गोपालमान श्रेष्ठको पनि गृहजिल्ला हो । यसअघिको निर्वाचनमा पूर्वउपसभापति श्रेष्ठलाई पराजीत गरेरै एमाले नेतृ पद्मा अर्याल उदाउनु भएको हो । स्थानीय तहको निर्वाचनमा पनि अर्याललेअ ाफ्नो दवदवा कायम राख्दै जिल्लामा पहिलो दल एमाले बनाउन सफल हुनुभएको छ ।