जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १८:३९

सत्ता गठबन्धनले एमालेविरुद्ध राज्यसत्ताको चरम दुरुपयोग गर्‍यो : योगेश भट्टराई


काठमाडौं, जेठ ५ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको ठोकुवा गर्नुभएको छ । प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको बताउनु भयो ।

उहाँले पार्टी हारको कारण उम्मेदवार छनोटमा कमजोरी हुनु रहेको बताउनु भयो । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उहाँको भनाई छ । ‘यसपटकको निर्वाचन हेर्दाखेरी मुलतः एमालेको विरुद्धमा जुन गठबन्धन बनाइयो, एक । दुई, नेकपा एमालेका विरुद्ध राज्यसत्तालाई जसरी एमालेका विरुद्ध दुरुपयोग गरियो पुलिस प्रशासन, कर्मचारीतन्त्रदेखि लिएर अन्य विभिन्न निकायहरुलाई । यो परिस्थितिमा नेकपा एमालेले जुन परिणाम ल्याएको छ यो कुनै निराशाजनक परिणाम होइन,’ भट्टराईले भन्नुभयो ।

उहाँले चुनावी परिणाम अपेक्षाअनुसार नआउनुमा आन्तरिक कमजोरी पनि रहेको बताउनु भयो । ‘आन्तरिक कारण पनि छन् । आन्तरिक हिसाबले विशेष गरेर उम्मेदवार छनौटमा कतिपय ठाउँमा हाम्रो गल्ती भएको देखिन्छ । त्यसलाई सच्याउनुपर्ने हुन्छ । त्यस्तै पार्टीले उम्मेदवारी दिइसकेपछि त्यो उम्मेदवारको पक्षमा जसरी पार्टीपंक्ति एकतावद्ध भएर लाग्नुपर्ने हो कतिपय ठाउँमा त्यो देखिएन । एमालेकै पनि कतिपय ठाउँमा बागी उम्मेदवारहरु देखिए । आफ्नो उम्मेदवारलाई मत नहाल्ने । विरोधी उम्मेदवारहरुसाग साँठगाँठ गर्ने, यस्ता खालका प्रवृत्ति पार्टीभित्र पनि देखिएका छन् । यसलाई हामिले समिक्षा गर्नुपर्छ,’ उहाँले भन्नुभयो।

सांसदसमेत रहनुभएका भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठूला दलहरुलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरुको निम्ति खतराको घण्टी भएको टिप्पणी पनि गर्नुभयो ।