जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार ०९:५३

प्रदेश उपसभापति रायमाझीकै वडामा बढारियो कांग्रेस, एमालेको प्यानलै बिजयी


मोरङ, जेठ ६ । नेपाली कांग्रेस प्रदेश १ का उपसभापति एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीकै वडा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस पराजित भएको छ । राष्ट्रिय सभामा नेकपा एमालेका बिरुद्ध खरो उत्रने परिचय बनाउनु भएका प्रदेश उपसभापति रायमाझीले आफ्नै वडामा कांग्रेसलाई जिताउन नसक्नु भएको हो ।

रायमाझीको वडामा नेकपा एमालेले सानदार जित निकालेको छ । रायमाझीको वडामा कांग्रेसले बिउ नै जोगाउन नसकेको भन्दै स्थानीय एकजना कांग्रेस नेताले भने ‘अरुका बिरुद्ध सधैँ कराएर नहुने रहेछ, आफ्नै वडाका कार्यकर्तालाई कराउन सकेनन के गर्नु ? आफ्नै कार्यकर्ताले एमालेलाई हराउन सकेनन ! आफ्नै पार्टी सके अघिल्लो पटक प्यानलै जितेको वडा सिनित्तै बढारियो ।’

ति नेताले भने ‘सुन्दरहरैँचा ३ मा पूर्व वडाध्यक्ष अनि नेपाली कांग्रेस सुन्दरहरैँचा ३ का वर्तमान वडा सभापतिले नै आफ्नो पार्टीलाई अन्तरघात गरेर बिपक्षीलाई जिताएको अनुभव भएको छ । तपाँईकै मिडियामार्फत यो शन्देश पठाउँछु पार्टीले छानबिन गरोस ।’

तीन हजार ८ सय ९७ मत खसेको सुन्दरहरैँचा ३ मा नेकपा एमालेका बिदुर ढुंगानाले १ हजार ८ सय ९१ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । ढुंगानाका निकटतम प्रतिद्वन्दी केन्द्रदिप पोख्रेलले १ हजार ४सय २१ मत प्राप्त गर्नुभएको छ । यस्तै दलित महिला सदस्यमा १ हजार ७ सय ७६ मत प्राप्त गर्दै पबित्रा दमाई निर्वाचित हुँदा कांग्रेसकी बिन्दा बोगटीले एक हजार ४ सय ८९ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा १ हजार ७ सय १३ मत प्राप्त गर्दै पूर्णमाया लिम्बु निर्वाचित हुँदा कांग्रेसकी रिता दाहालले १ हजार ३ सय ४५मत प्राप्त गर्नुभयो ।

यस्तै वडा सदस्यद (खुल्ला सदस्य–१) मा एमालेका निलम अधिकारीले १ हजार ७ सय ३६ मत प्राप्त गर्दै बिजयी हुँदा कांग्रेसका मणि कोईरालाले १ हजार ३ सय ६८ मत प्राप्त गर्नुभयो भने वडा सदस्य (खुल्ला सदस्य–२)मा एमालेका ८१ बर्षीय नारायण भट्टराई ‘बा’ १ हजार ६ सय ८० मत प्राप्त गर्दै निर्वाचित हुँदा कांग्रेसका रमेश थापाले १ हजार ४ सय ४३ मत प्राप्त गरी पराजीत हुनुभयो ।