जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १६:४१

यी हुन सिन्धुपाल्चोकको १२ ओटै पालिकाका प्रमुख-उपप्रमुख : १०३ वडामा कस्ले कति जिते ? (सूचीसहित)


सम्झना कार्की/सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको १२ स्थानीय तह र १०३ वडा रहेको स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम आउँदा कांग्रेसले पाँच, नेकपा माओवादी केन्द्रले चार र नेकपा एमालेले ३ ओटा पालिका जितेको छ ।

कांगेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ । माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ । यस्तै एमालेले इन्द्रावती गाउँपालिका, सुनकोसी गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ ।

जिल्लाका १०३ वडामध्ये कांग्रेसले ५३, एमालेले ३६ र माओवादीले ११ तथा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक–एक वडा जितेका छन । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।

चौतारा साँगाचोकगढी प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर निर्वाचित हुनुभयो भने उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापा नौ हजार ७२६ मत ल्याएर निर्वाचित हुनुभएको छ । नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।

बाह्रविसे प्रमुखमा कांग्रेसका बालकृष्ण बस्नेत ७ हजार ७२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसकै मञ्जु तामाङ ६ हजार ९७७ मत ल्याएर निर्वाचित हुनुभयो । मेलम्ची प्रमुखमा कांग्रेसका आइतमान तामाङ ११ हजार २५८ मत ल्याएर निर्वाचित हुनुभयो भने उपप्रमुखमा एमालेकी उमा प्रधानले १० हजार १६४ मत ल्याएर विजयी बन्नुभएको छ । नगरपालिकामा कांग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो ।

जुगल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रेशम स्याङ्बो ५ हजार ५०३ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ चार हजार ६८९ मत ल्याएर विजयी हुनुभयो । सो पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । यस्तै त्रिपुरासुन्दरी अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा ४ हजार २२९ मत ल्याएर बिजयी हुनुभयो भने उपाध्यक्षमा कांग्रेसकै गीताकुमारी नेपाल ४ हजार १५६ मत ल्याएर विजयी हुनुभएको छ ।

पाँचपोखरी थाङपालमा माओवादी र कांग्रेस गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन । अध्यक्षमा टासी लामा ५ हजार ६०८ र एमालेकै सुनिता अधिकारीले ५ हजार ७२२ मत ल्याएर निर्वाचित हुनुभएको छ । सो पालिकामा अध्यक्ष÷उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका हुन । बलेफी अध्यक्षमा माओवादी केन्द्रका गंगाबहादुर तामाङले ४ हजार ६६६ मत प्राप्त गरी बिजयी हुनुभयो भने उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ ४ हजार ३९४ मत ल्याएर निर्वाचित हुनुभएको छ । सो पालिकामा माओवादी केन्द्र र समाजवादीबीच तालमेल भएको थियो ।

भोटेकोसी अध्यक्षमा कांग्रेसका पासाङ नुर्पु शेर्पाले २ हजार ६०५ मत ल्याएर बिजयी हुुनुभयो भने उपाध्यक्ष कांग्रेसकै दिछेन शेर्पा २ हजार ७१२ मत ल्याएरु निर्वाचित हुनुभएको छ ।यस्तै इन्द्रावती अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा एमालेकै शोभना तामाङ ६ हजार ५१३ मत ल्याई निर्वाचित हुनुभएको छ ।

लिसंखुपाखर अध्यक्षमा माओवादी केन्द्रका राजु लामा तामाङ ३ हजार ९२५ मत ल्याएर निर्वाचित हुनुभयो भने उपाध्यक्षमा एमालेकी मिठू देवी लामाले ३ हजार २५१ मत ल्याएर बिजयी हुनुभएको छ । सुनकोसी अध्यक्षमा एमालेका टपिन्द्रप्रसाद तिमल्सिनाले ५९ सय ३२ मत ल्याएर बिजयको माला पहिरिनु भयो । उपाध्यक्षमा कांग्रेसकी कान्छी लामा पाँच हजार ९०५ मत ल्याई विजयी हुनुभयो । सो पालिकामा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

हेलम्बु अध्यक्षमा कांग्रेसका निमा ग्याजेन शेर्पाले ५३ सय ८६ मत ल्याई विजयी बन्नुभयो । उपाध्यक्षमा कांग्रेसकै अप्सरा लम्साल लामिछानेले ५२ सय १४ ल्याई विजयी हुनुभयो । सो पालिकामा अध्यक्षमा पुरानै अनुहार दोहोरिएको हो । उपप्रमुख पदमा सिन्धुपाल्चोकमा एक अनुहार दोहोरिएका छन भने अरु नयाँ निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा सुनिता अधिकारीलाई जनताले फेरि उपाध्यक्षमा चुनेका हुन । बाह्रविसेमा सुशीला पाख्रिनलाई उपप्रमुखक लागि फेरि एमालेले दोहोर्याए पनि पराजित हुनुपरेको छ ।

लिसंखु प्रमुख माओवादीले जित्दा उपप्रमुख भने एमालेबाट मिठुदेवी लामा निर्वाचित हुनुभएको हो । सुनकोसीमा एमालेका टपेन्द्र तिमल्सिनाले अध्यक्ष पद जित्दा उपाध्यक्षमा कांग्रेसकी कान्छी लामाले जित्नुभयो । बलेफीमा माओवादीले अध्यक्ष आफ्नो पोल्टामा पाउँदा उपप्रमुखमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित हुनुभयो । मेलम्चीमा कांग्रेसका आइतमान तामाङ प्रमुख पदमा विजयी हुँदा उमा प्रधान एमालेबाट निर्वाचित हुनुभएको छ ।