जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १७:४५

पर्सामा सवैभन्दा ठूलो दल बन्यो एमाले, कांग्रेस दोस्रो बन्दा माओवादी र नेकपा एस सून्य (सूचीसहित)


पर्सा, जेठ ६ । अघिल्लो स्थानीय तहको निर्वाचनमा दयनीय अवस्थामा रहेको नेकपा एमाले यस पटकको निर्वाचनमा भने जिल्लामा सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको छ । मधेसमा एमालेप्रतिको धारणा बदलीयको प्रमाणको रुपमा यस परिणामलाई लिइएको छ ।

पर्साको १४ पालिकामध्ये वीरगञ्ज महानगरपालिकाको मतगणना जारी रहेको छ भने १३ वटा पालिकाको परिणाम आइसकेको छ । पछिल्लो परिणामअनुसार ४ स्थानीय तहका प्रमुख र सात स्थानीय तहमा उपप्रमुख जितेर एमाले पहिलो दल बनेको हो । एमालेले वीरगञ्जपछिको ठूलो नगरपालिका पोखरिया र पर्सागढी नगरपालिका जितेको छ भने ठोरी, छिपहरमाई र सखुवा प्रसौनी गाउँपालिकाको प्रमुखमा पनि यसपटक बिजयी बनेको छ ।

त्यस्तै नेपाली कांग्रेस ४ स्थानीय तहको प्रमुख जितेर दोस्रो दल बनेको छ । कांग्रेसले पटेर्वासुगौली, जगरनाथपुर, पकहामैनपुर र जिराभवानी गाउँपालिकामा प्रमुख जितेको हो । वीरगञ्जको मेयरमा अग्रता कायम गरेको जनता समाजवादी पार्टीले हालसम्म धोविनी गाउँपालिका, कालिकामाइ गाउँपालिका र बहुदरमाई नगरपालिकाको प्रमुख जितेर तेस्रो दल बनेको छ ।

विन्दबासनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । पर्सामा जसपा र लोसपाले कुनै पनि पालिकामा उपप्रमुख पद जित्न सकेका छैनन् । पर्सामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने सून्य भएका छन । वीरगञ्ज जितेको अवस्थामा जसपा र कांग्रेस बराबर हुनेछन । मेयरमा जसपाका उम्मेदवार धेरै मतको अन्तर रहेकोले बीरगञ्ज जित्ने अनुमान गरिएको छ ।