काठमाडौं, जेठ ७ । प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहमा निर्वाचन लडन आएका साँसदलाई जनताले अस्वीकार गरेका छन । प्रदेशसभा छाडेर तीन जना नेता स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका थिए । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू तिनै जना नेकपा एमालेका छन ।
एमालेका काजिमान कागते इलाम, विजय सुवेदी चितवन र कृष्ण थापा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुभएको हो । परिणाम आउँदा तीनमध्ये कागते इलामको सूयोदय नगरपालिकामा पराजीत हुनुभएको छ भने अन्इ दुई भरतपुर र पोखरा महानगरपालिकामा मतगणनामा पछि पर्नुभएको छ । कागते इलामको सूर्योदय नगरपालिकाको प्रमुख पदका लागि प्रतिस्पर्धामा उत्रिनुभएको थियो । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहपालिका पनि यही हो । कागते खनालकै पार्टीका नेता रणबहादुर राईबाट पराजित हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार राईले १२ हजार ४३१ मत र पराजित भएका कागतेले १० हजार ५७९ मत प्राप्त गर्नुभएको छ । राईको जितले सांसद पदबाट राजीनामा दिएर सूर्योदय नगरपालिकाको नेतृत्व गर्ने कागतेको चाहना अधुरै रहन पुगेको छ । अर्का सांसद् विजय सुवेदीको पनि भरतपुर महानरपालिकामा निकै पछि पर्नुभएको छ । शनिबार बिहान ११ बजेको मतपरिणामलाई आधार मान्दा उहाँ प्रतिस्पर्धी रेणु दाहाल ५ हजार ५१८ मतले अघि हुनुहुन्छ । रेणुले २८ हजार ६०८ मत र सुवेदीले २३ हजार ९० मत प्राप्त गर्नुभएको छ ।
आधाभन्दा बढी वडाको मतगणना सकिएको छ । एमालेको ‘कोर एरिया’ भनिएको वडाबाट पनि सुवेदीलाई राम्रो मत नआएप्छि उहाँ फराकिलो अन्तरमा पछि पर्नुभएको हो । पोखरा महानगरपालिकाको प्रमुख पदका प्रतिस्पर्धी रहेका कृष्ण थापा पनि जति मतगणना सकिन्छ, त्यति पछि पर्दै जानुभएको छ । उहाँलाई गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले पछि पार्नुभएको हो ।
सत्ता गठबन्धनका उम्मेदवार आचार्यले ३२ हजार ४८० मत पाउँदा थापाले भने २९ हजार ४१ मत पाउनु भएको छ । उहाँहरूको मतान्तर ३ हजार ४३९ छ । यो आँकडाले गण्डकी प्रदेश सांसदबाट राजीनामा दिनुभएका थापालाई पोखरा महानगरको प्रमुख हुन कठिन बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्