जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १९:०८

अदालतले दोषी ठहर गरे पनि कैलालीका जनताले मानेनन रेशम चौधरीलाई दोषी, चौधरीकै पार्टीले जित्यो निर्वाचन क्षेत्रका चारवटै पालिका


कैलाली, जेठ ७ । टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीको निर्वाचन क्षेत्रमा अन्य पार्टीले पराजय बेहोर्नुपरेको छ । पूर्वी कैलालीका चार वटा पालिका वैशाख ३० गते भएको स्थानीय तह चुनावमा चौधरीले केही महिनाअघि गठन गरेको दल नागरिक उन्मुक्त पार्टीले जितेर अन्य दललाई चक्मा दिएको हो ।

कैलाली क्षेत्र नम्बर १ मा पर्ने यी चार वटै पालिकामा चौधरीको दलले जित हात पारेको छ । सो क्षेत्र निलम्बित सांसद रेशम चौधरीको हो । कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी अहिले डिल्लीबजारस्थित कारागारमा हुनुहुन्छ । २०७२ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ८ प्रहरीको हत्या भएको घटनामा मुछिएका चौधरीले ‘भूमिगत’ भएरै २०७४ को चुनावमा उम्मेदवारी दिनुभएको थियो ।

त्यतिबेला चौधरी प्रहरीको फरार सूचीमा हुनुहुन्थ्यो । उहाँले गत निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उनले चुनाव जित्नुभएको हो । चुनाव जितेपछि २०७४ फागुन १४ गते चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गर्नुभएको थियो । चार वर्ष कारागारमा बिताएका चौधरीले यसपालिको चुनावमा भने आफ्नो निर्वाचन क्षेत्रमा एकलौटी गर्नुभएको छ । कैलाली क्षेत्र नम्बर १ मा पर्ने टीकापुर र भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा उहाँकै नागरिक उन्मुक्त पार्टीले जित हात पारेको हो ।

टीकापुरको मेयरसहित उहाँको पार्टीले २ वडाध्यक्ष जितेको छ । भजनीको मेयर र उपमेयरसहित नागरिक उन्मुक्ति पार्टीले तीन वडाध्यक्ष जितेको छ । यस्तै जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित पाँच वडाध्यक्ष उक्त पार्टीले जितेको छ भने जोशीपुर गाउँपालिका पनि अध्यक्ष र उपाध्यक्षसहित चार वडामा जित हात पारेको छ ।