जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १७:५७

बाबुराम भट्टराईको प्रदेशमा शून्य बन्यो जसपा


पोखरा, जेठ ८ । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा जनता समाजवादी पार्टी (जसपा) शून्य भएको छ । गण्डकीको ११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित नभएका हुन ।

अध्यक्ष भट्टराई आफैं गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी ‘कमान्डर’ भएर खटिनु भएको थियो । मौन अवधी सुरु हुनुअघिसम्म उहाँ ट्‍वीटरमार्फत मतदाताका घरदैलोमा जाँदा पार्टीप्रति जनलहर आएको लेख्नुभएको थियो । तर परिणामले सून्यमा पुर्याएको छ । गठबन्धन दलहरूबीच तालमेलबारे भएको निर्णयविपरीत एमालेसँग गोरखालगायत जिल्लामा तालमेल गरे पनि भट्टराईले आफ्नो जिल्लामा त कहाँ हो कहाँ सिङ्‍गो प्रदेशमै पार्टी शून्यमा पार्नुभएको हो ।

गण्डकीका जिल्लाहरूमध्ये अधिक प्रभाव रहेको जिल्ला भनेर गोरखालाई लिइन्थ्यो । जहाँ ३० वैशाखमा भएको निर्वाचनबाट उहाँकै पूर्ववर्ती पार्टी नेकपा माओवादी केन्द्रले ११ मध्ये ९ पालिकामा निर्वाचन जित्यो । कांग्रेसले २ स्थानीय तह जित्दा एमालेसँग तालमेल गरेका उहाँका पार्टीको स्थानीय तह नेतृत्वमा अस्तित्व रहेन ।

भट्टराई मात्र होइन, पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको गृह प्रदेश बाग्मतीमा पनि जसपा शून्य भएको छ। प्रदेशका १३ जिल्लामा एउटा पनि स्थानीय तह नेतृत्वमा उम्मेदवारलाई जिताउन श्रेष्ठ पनि अक्षम रहनुभएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जसपाको हालत उस्तै देखिएको छ । जसपाले मधेस प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेशमा मात्र निर्वाचन जितेको छ ।