जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १९:३२

एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नेगरी जनमत बढेको छ : महासचिव पोखरेल


दाङ, जेठ ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विचारविहीन जमातले राष्ट्रको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । प्रेस चौतारी दाङले आज आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले काठमाडौं महानगरपालिकासहित बिभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको मत असन्तुष्टिमा प्रकट भएको बताउँदै त्यो जनमतलाई आत्मसाथ गरेर पार्टीले योजना बनाउने बताउनु भयो । ‘स्वतन्त्रको अभ्यास नयाँ होइन, यो पुरानै अभ्यास हो । युवा पुस्तालाई आकर्षित गर्नेगरी योजना बनाउन जरुरी छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘नयाँ पुस्ताको आकांक्षालाई आत्मसाथ गरेर एमाले अघि बढ्छ ।’

यसपटकको स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा जनमत बढाएको पनि महासचिव पोखरेलले बताउनु भयो । ‘केही सिट गुमाए पनि जनमत बढाएका छौं । केही ठाउँमा गठबन्धन भएका कारण परिणाम निकाल्न सकेनौं । विगतको तुलनामा जनताको समर्थन प्राप्त गर्न सफल भएका छौं,’ महासचिव पोखरेलले भन्नुभयो, ‘यो असफलताबाट शिक्षा लिएर अघि बढ्ने छौं । विकास र समृद्धिको यात्रामा लग्नको लागि बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सकिन्छ ।

उहाँले मुलुक धुव्रीकरणतर्फ प्रवेश गरेको पनि बताउनु भयो । ‘नेपाली कांग्रेस बलियो शक्ति होइन, गठबन्धन पहिलो शक्ति बनेको छ । एमाले दोस्रो शक्ति बनेको छ । गठबन्धनको साहरामा कांग्रेसले जितेको हो । दुई ध्रुवमा मुलुकको राजनीति प्रवेश गरेको छ,’ पोखरेलको भनाई छ । उहाँले गठबन्धनले पार्टीहरूलाई कमजोर बनाउने तर्क पनि गर्नुभयो ।

‘गठबन्धनले अस्थायी रूपमा परिणाम दिन्छ तर, भविष्यमा गुमाउनु पर्छ । संघ र प्रदेश सरकार अनुकुलन हुँदा स्थानीय सरकार सफल हुन सक्छन । राष्ट्रिय शक्तिको रूपमा एमालेलाई बनाउनेगरी जनमत बढेको छ, महासचिव पोखरेलको निश्कर्ष थियो ।