जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १९:५१

शब्दवाणले गरेको प्रहार कहिल्यै निको हुन्न : अध्यक्ष ओली


काठमाडौं, जेठ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शब्दवाणले गरेको प्रहार निको नहुने बताउनु भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका एमाले अध्यक्ष ओलीले आज यस्तो बताउनु भएको हो ।

चुनावी परिणामपछि आइतबार राजधानीमा आयोजित मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टडे’को लोकार्पण कार्यक्रममा ओलीले यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले कविता, नाटकको उत्पत्तिदेखि दूरदर्शनमा प्रसारित हुने ’महाभारत’ टेलिसिरियल प्रारम्भ हुँदाको संवाददेखि जेनेटिक मेमोरीसम्मको विषयमा चर्चा गर्नुभयो ।

कार्यक्रममा उहाँले शब्दवाण धातू वाणले घोचेको भन्दा पनि कडा हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘धातूको वाणले प्रहार गर्दा उपचारले निको हुन्छ । शब्दवाणले गरेको प्रहार निको नै हुन्न ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सबै नेपाली कवि भएको बताउनु भयो । ‘सबै नेपालीको नामपछि कवि लेखिदिए हुन्छ । लिपी जन्मिनुभन्दा पहिले पनि छन्दमा कविता वाचन गर्दथे,’ ओलीले भन्नुभयो, ‘नेपालमा जस्तो दोहोरी खेल्दा भन्न सक्ने को छ ? नेपालीसँग १० मिनेटमा विश्वका जुनसुकै कवि पनि टिक्न सक्दैन ।’