जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार १०:३०

केपी ओलीको गृहनगर दमकमा कमजोर छैन एमाले, नेतृत्व गुमाए पनि नगरसभामा एक्लै दुईतिहाइ सीट


झापा, जे७ ९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेले नगर प्रमुख र उपप्रमुख गुमाए पनि नगरसभामा दुई तिहाई जीत निकालेको छ । सत्तारुढ पाँच दल र राप्रपासमेत मिलेर एमालेबिरुद्ध महागठबन्धन बनाएर प्रमुख र उपप्रमुखमा झिनो मतले जितेपनि नगरसभामा एमालेले दुई तिहाई सीट जितेको हो ।

प्रजातन्त्र पुनस्र्थापनापछिका सबै स्थानीय निर्वाचनमा जित निकालेको एमाले महागठबन्धनका कारण यसपटक दमकमा प्रमुख र उपप्रमुखविहीन बन्न पुग्यो । तर, दमकमा एमालेले शक्ति भने यथावत नै रहेको छ । महागठबन्धनका बावजुद यसपटक पनि एमालेले दमक नगरसभामा दुईतिहाइभन्दा बढी शक्ति आर्जन गरेको छ । दमक नगरसभाका ५२ सदस्यमध्ये ३९ एमालेबाट निर्वाचित भएका छन । १३ जना मात्र गठबन्धनबाट विजयी भएका छन् ।

कांग्रेस, माओवादी र राप्रपासहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुख जिते पनि सभामा एमालेको दुई तिहाई बहुमत पुगेको हो । दमकका १० वडामध्ये एमालेले सातवटा वडामा जित निकालेको छ । वडा नम्बर ७ मा मात्र गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन । बाँकी तीन वडामा वडाध्यक्ष जिते पनि सदस्य गुमाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहितको गठबन्धनबाट नगर प्रमुख निर्वाचित राप्रपाका राम थापाले १७ हजार ५२५ मत पाउनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी गीता अधिकरीले १६ हजार ९ सय ६६ मत पाउनु भएको छ । अधिकारी पाँच सय ५९ मतले पराजित हुनुभएको हो ।

उपप्रमुख जितेकी कांग्रेसकी रेगिना भट्टराईले १७ हजार ७२ मत पाउँदा एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ७७४ मत पाउनुभयो । दमक नगरपालिकाका १० वटै वडामा एमालेका अध्यक्षले १९ हजार ६ सय ७० मत पाएको देखिन्छ । गठबन्धनको मत योभन्दा निकै न्यून छ । यद्यपि, तीनवटा वडामा एमाले वडाध्यक्षका उम्मेदवार पराजित भएका छन । तर, सबै वडामा एमालेले प्राप्त गरेको मत हेर्दा दमकमा एमाले शक्तिशाली नै देखिएको हो ।

एमालेले १, २, ३, ५, ६, ८ र ९ वडा जित्दा गठबन्धन ४, ७ र १० मै चित्त बुझाउन बाध्य भएको छ । केही वडामा एमालेका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई एक हजार हाराहारी मतले पराजित गरेका छन । नगरको नेतृत्व गरेको गठबन्धन दल स्पष्ट अल्पमतमा छ । नगरसभामा स्पष्ट अल्पमतमा रहेको कारण एमालेको सहमतिबिना कुनै काम नहुने अवस्था तथ्यांकले देखाएको छ ।