जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार १७:४६

गृहजिल्लामै कांग्रेस र माओवादीको भरियामै सिमित भए श्रममन्त्री किसान श्रेष्ठ, नेकपा एस सून्य


तनहुँ, जेठ ९ । श्रममन्त्री किसान श्रेष्ठको गृहजिल्ला तनहुँमा नेकपा एकीकृत समाजवादी सून्य बनेको छ । सत्तारुढ पाँच दलीइ गठबन्धन गरेर स्थानीय तहको निर्वाचन लडे पनि दशवटै पालिकाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एसले एउटा पालिकामा पनि जीत निकाल्न नसकी सून्यमा झरेको हो ।

अन्तिम मत परिणामअनुसार जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकामध्ये नेपाली कांग्रेसले पाँच, नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले एक पालिकाको प्रमुख जितेको छ । कांग्रेसले व्यास नगरपालिकाको प्रमुख–उपप्रमुख, भानु नगरपालिकाको प्रमुख–उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाको प्रमुख, ऋषिङ गाउँपालिकाको प्रमुख–उपप्रमुख र देवघाट गाउँपालिकाको प्रमुख अध्यक्ष जितेको छ । कांग्रेसले बन्दीपुर गाउँपालिकाको उपप्रमुख, म्याग्दे गाउँपालिकाको उपप्रमुख पनि जितेको छ ।

यस्तै नेकपा एमालेले घिरिङ गाउँपालिकाको प्रमुख–उपप्रमुख, म्याग्दे गाउँपालिकाको प्रमुख, भीमाद नगरपालिकाको प्रमुख–उपप्रमुख र बन्दीपुर गाउँपालिकाको प्रमुखमा विजयी बनेको छ । गठबन्धनमा सहभागी अर्काे दल नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको प्रमुख–उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख, देवघाट गाउँपालिकाको उपप्रमुखमा विजय हासिल गरेको छ ।

नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा बैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै, भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिकाको प्रमुखमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपप्रमुखमा गिनुमाया थापा, देवघाट गाउँपालिकाको प्रमुखमा तिलबहादुर थापा विजयी हुनुभएको छ ।

यसैगरी बन्दीपुर गाउँपालिकाको उपप्रमुखमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिकाको उपप्रमुखमा बालकृष्ण घिमिरे विजयी हुनुभएको छ । नेकपा एमालेबाट घिरिङ गाउँपालिकाको प्रमुखमा होमबहादुर थापा, उपप्रमुखमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल र बन्दीपुर गाउँपालिकाको प्रमुखमा सुरेन्द्र थापा विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाको प्रमुखमा शुक्र चुमान, उपप्रमुखमा दुर्गा अर्याल, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा खुमबहादुर विक र देवघाट गाउँपालिकाको उपप्रमुखमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ । जिल्लाका ८५ वडामध्ये नेपाली कांग्रेसले ४६, नेकपा एमालेले २८ र नेकपा माओवादी केन्द्रले ७ वडा जितेको छ । यस्तै स्वतन्त्र उम्मेदवार बनेर चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका छन । चुनावअघि श्रममन्त्री श्रेष्ठले गण्डकीकै ठेक्का लिनुभएको थियो । तर परिणाम आउँदा आफ्नै जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्रको भरिया मात्रै बनेको तथ्य उजागर भएको छ ।

निर्वाचनबाट जिल्लाका चार सय ४५ जनप्रतिनिधि निर्वाचित भएका छन । प्रमुख/उपप्रमुख २०, वडाध्यक्ष ८५ र तीन सय ४० जना वडा सदस्य निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।