जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १०:०२

केपी ओलीको गृहजिल्ला झापामा एमालेको एकल बहुमत, दमकमा राप्रपा जिताउन लाग्दा पत्तासाफ बन्यो माओवादी


दमक, जेठ १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेको एकल बहुमत जुटेको छ । जिल्ला समन्वय समिति गठनकालागि गठबन्धनकलाई हराउँदै बहुमत पालिकामा एमालेको जीत भएको हो ।

नेपाली कांग्रेस र सत्ता गठबन्धनलाई चारवटा पालिकामा प्रमुख जिताउन सहयोगी बनेको नेकपा माओवादी केन्द्र भने झापामा कतै पनि जित्न नसकी सून्य बनेको छ । झापाका १५ वटा स्थानीय तहमध्ये ओलीको निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र राप्रपा समेतको तालमेल भएको थियो भने अन्यत्र कांग्रेस र माओवादीले मात्र तालमेल गरेर नेकपा एकीकृत समाजवादी र जसपालाई बाहिर राखेका थिए ।

अन्तिम नतिजा आउँदा कांग्रेसले माओवादीको सहयोगमा पालिकाको प्रमुख जित्यो तर उपप्रमुख पाएको माओवादीले कतै पनि जित निकाल्न सकेन । भद्रपुर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका गणेश पोखरेल मेयर बन्दा माओवादीका उपमेयर उम्मेदवार शिवकुमार राजभण्डारी पराजित हुनुभयो । त्यहाँ राप्रपाकी राधा कार्की बिजयी बन्नुभयो । त्यस्तै कमल गाउँपालिकामा कांग्रेसका हुकुमसिंह राई ३ हजार मतान्तरमा अध्यक्षमा बिजयी हुँदा माओवादीका उपाध्यक्ष उम्मेदवार पर्शुराम सुवेदी २५ सय मतान्तरले एमालेकी प्रमिला सुवेदीसँग पराजित हुनुभयो ।

बुद्धशान्ति गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका मनोज प्रसाई ३ हजार मतान्तरले अध्यक्ष जित्दा उपाध्यक्षमा माओवादीका खड्ग तिम्सिना ३ हजार मतान्तरले नै पराजित हुनुभयो । कांग्रेस र माओवादीले गठबन्धन गरेकामध्ये बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी, कनकाइ, गौरादह, बाह्रदशी नगरपालिकामा दुवै पद एमालेले जितेको छ भने मेचीनगर नगरपालिकामा पनि एमालेले जितेको छ । दमकमा भने राप्रपालाई मेयर र कांग्रेसलाई उपमेयर बनाएर माओवादी केन्द्र तथा नेकपा एस मतदातामा सिमित बनेका छन ।

जिल्लाभरीको मतगणनाको परिणाम आउँदा एमालेले बहुमत पालिका जितेर जिल्ला समन्वय समिति एक्लै गठन गर्ने हैसियत बनाएको छ । परिणामअनुसार कांग्रेसले बुद्धशान्ति, झापा, कचनकवल, कमल, गौरीगञ्ज गाउँपालिका र भद्रपुर नगरपालिकाको प्रमुख जितेको छ । तीमध्ये झापा र भद्रपुरबाहेक अन्य पालिकाको उपप्रमुख एमालेले जितेको छ । राप्रपाले दमकको मेयर र हल्दिबारी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवै जितेको छ । एमालेले मेची नगर, बिर्तामोड, अर्जुनधारा, कनकाई, बाह्रदशी, शिवसताक्षी र गौरादह नगरपालिका जितेको छ । झापाको १५ पालिकाबाट निर्वाचित हुने ३० मतदातामध्ये एमाले एक्लैले १८ पदमा जीत निकालेको छ ।

दमकमा पनि प्रमुख उपप्रमुख गुमाएको एमालेले नगरसभामा दुई तिहाई सीट जितेको छ । दमक नगरसभाका ५२ सदस्यमध्ये ३९ एमालेबाट निर्वाचित भएका छन । १३ जना मात्र गठबन्धनबाट विजयी भएका हुन ।

कांग्रेस, माओवादी र राप्रपासहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुख जिते पनि सभामा एमालेको दुई तिहाई बहुमत पुगेको हो । दमकका १० वडामध्ये एमालेले सातवटा वडामा जित निकालेको छ । वडा नम्बर ७ मा मात्र गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन । बाँकी तीन वडामा वडाध्यक्ष जिते पनि सदस्य गुमाएको छ । एमालेले १, २, ३, ५, ६, ८ र ९ वडा जित्दा गठबन्धन ४, ७ र १० मै चित्त बुझाउन बाध्य भएको छ ।

यी हुन झापाका १५ पालिकामा निर्वाचित प्रमुख-उपप्रमुख

 

१. दमक नगरपालिका

प्रमुख : रामकुमार थापा, राप्रपा

उपप्रमुख : रेगिना भट्टराई, कांग्रेस

२. अर्जुनधारा नगरपालिका

प्रमुख : बलदेव सिंह गोम्तेन तामांग, एमाले

३. उपप्रमुख : खडगमाया पराजुली, एमाले

४. कन्काई नगरपालिका

प्रमुख : राजेन्द्रकुमार पोखरेल, एमाले

उपप्रमुख : आशा शिवाकोटी, कांग्रेस

५. गौरादह नगरपालिका

प्रमुख : छत्रपति सुवेदी, एमाले

उपप्रमुख : जलबर्षा राजबंशी, एमाले

६. भद्रपुर नगरपालिका

प्रमुख : गणेश पोखरेल, कांग्रेस

उपप्रमुख : राधा कार्की, राप्रपा

७. मेचीनगर नगरपालिका

प्रमुख : गोपालचन्द्र बुढाथोकी, एमाले

उपप्रमुख : मीनाकुमारी पोखरेल, एमाले

८. बिर्तामोड नगरपालिका

प्रमुख : पबित्रादेवी महतारा, एमाले

उपप्रमुख : नगेन्द्रप्रसाद संग्रौला, एमाले

९. शिवशताक्षी नगरपालिका

प्रमुख : मेगाहाङ्ग थोप्रा, एमाले

उपप्रमुख : नरमाया कार्की, एमाले

१०. गौरीगञ्ज गाउँपालिका

प्रमुख : फुलमति राजबंशी, कांग्रेस

उपप्रमुख : पुजन न्यौपाने कुँवर, एमाले

११. झापा गाउँपालिका

प्रमुख : जयनारायण शाह, कांग्रेस

उपप्रमुख : अञ्जुदेवी थपलिया, कांग्रेस

१२. कचनकवल गाउँपालिका

प्रमुख : कालेन्द्र सिंह राजबंशी, कांग्रेस

उपप्रमुख : नवराज भट्टराई, एमाले

१३. बाह्रदशी गाउँपालिका

प्रमुख : देवीन्द्रप्रसाद चम्लागाई, एमाले

उपप्रमुख : शान्तादेवी शिवाकोटी, एमाले

१४. बुद्धशान्ति गाउँपालिका

प्रमुख : मनोज प्रसाई, कांग्रेस

उपप्रमुख : भवानीप्रसाद खतिवडा, एमाले

१५. हल्दिबारी गाउँपालिका

प्रमुख : रबिन्द्रप्रसद लिंदेल, राप्रपा

उपप्रमुख : लक्ष्मीदेवी मैनाली, राप्रपा