जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १२:५३

सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु


पाल्पा, १० जेठ । रामपुरमा निर्माण हुन लागेको सहरी स्वास्थ्य केन्द्रको भवन शिलन्यास गरिएको छ । रामपुर नगरपालिका–४ व्यास बसपार्कमा वडा नं ४ र ५ का नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले सोमबार शिलान्यास गरी भवन निर्माण कार्य थालिएको हो ।

जिल्ला समन्वय समितिको रु १५ लाख, रामपुर नगरपालिकाको रु १० लाख र जनसहभागिता रु दुई लाख ८८ हजार गरी कूल रु २७ लाख ८८ हजारको लागतमा भवन निर्माण हुने उपभोक्ता समितिका सचिव प्रेम सारुले जानकारी दिनुभयो । सो भवन आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम थालनी गरिएको समितिले जनाएको छ ।

वडाध्यक्ष रामबहादुर रानाले भवन अभावमा नागरिकलाई सेवा दिन समस्या पर्ने भएकाले स्वास्थ्य सेवालाई सहज रुपमा नागरिक समक्ष प्रवाह गर्न नयाँ भवन बनाउने कार्य थालनी गरिएको बताउनुभयो । भवन अभावमा कालीगण्डकी आमा समूहको भवनबाट सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्र अब भवन बनेपछि सेवा प्रवाहमा सजिलो पर्नेछ ।