जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १५:०५

पाँच दल मिल्दा पनि पाल्पामा एमालेको एकल बहुमत, गठबन्धनको भन्दा निकै बढी मत (सूचीसहित)


पाल्पा, जेठ १० । स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको भन्दा पाल्पामा नेकपा एमाले एक्लै बलियो रहेको तथ्य स्थापित भएको छ । एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी एवं लामो समयदेखि पाल्पामा एकछत्र राज चलाउँदै आउनु भएका पूर्वमन्त्री सोमप्रसाद पाण्डेको गृहजिल्ला पाल्पामा गठबन्धन भन्दा प्रमुख–उपप्रमुख दुवैमा कुल मत एमालेले बढी पाएको हो ।

कुल १० ओटा स्थानीय तह रहेको पाल्पामा एमालेले प्रमुखमा गठबन्धनभन्दा ८ हजार ३ सय १८ बढी मत ल्याएको छ भने उपप्रमुखमा ८ हजार ७ सय ८४ मत बढी पाएको छ । १० स्थानीय तहमा वडा तहसम्मै एमालेबिरुद्ध सत्ता गठबन्धन मिलेर चुनाव लडेका थिए । परिणाम अउँदा कुल १० तहमा प्रमुखतर्फ एमालेले ६७ हजार ५ सय १ मत र उपप्रमुखतर्फ ६५ हजार ८ सय ८३ मत पाएको छ । यता गठबन्धनले भने प्रमुखतर्फ ५९ हजार १ सय ८३ र उपप्रमुखतर्फ ५७ हजार ८५ मत मात्रै पाएको छ ।

पाल्पाका दशै स्थानीय तहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको थियो । एमालेलाई हराउन वडा तहसम्मै पाँच दलबीच गठबन्धन भएको थियो । तर, अघिल्लोपटक भन्दा यसपालि पाल्पामा एमालेले झन धेरै मत ल्याएर बिजयी बनेको छ । गठबन्धनबीच एमालेले यसपटक पनि अघिल्लोपटक जितेका ६ वटै स्थानीय तह जोगाउन सफल भएको छ ।

सत्तारुढ दलहरुले गठबन्धन गरेर जिल्लाका १० मध्ये नेपाली कांग्रेसले ६, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पदको भागबण्डा गरेका थिए । जसअनुसार रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, बगनासकाली, माथागढी र निस्दी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेस, तिनाउ र रिब्दीकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र तथा पूर्वखोला र रम्भा गाउँपालिकामा एकीकृत नेकपा समाजवादीबाट प्रमुख पदको उम्मेदवार थिए । तर गठबन्धनाई धुलो चटाउँदै बगनासकाली, माथागढी, निस्दी, तिनाउमा एमालेले जितेको छ ।

पूर्वखोला र निस्दी गाउँपालिकामा त एमालेले सत्ता गठबन्धनलाई क्लिनस्वीप नै गरेको छ । स्वयं सोम पाण्डेकै वडामा समेत एमालेले आफ्नो पकड कायम राखेको छ । गठबन्धनबाट एकीकृत समाजवादीले मीनप्रसाद बन्जाडेलाई अध्यक्ष उठाएको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिनस्वीप गरेको छ । गठबन्धनका गिरीले एक हजार २५७ मत पाउँदा झण्डै पाँच गुणा बढी मतसहित एमालेका नुनबहादुर थापाले जित्नुभएको छ ।

अध्यक्ष दोहोरिनु भएका थापाले गठबन्धनका उम्मेदवारविरुद्ध ६ हजार ३९ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि एमालेका भागिरथी शर्माले फराकिलो अन्तरले जित्नुभयो । शर्माले पाँच हजार ८९४ मत ल्याएर जित्दा कांग्रेसका विष्णुकुमारी आचार्यले दुई हजार २५० मत मात्रै ल्याउनु भयो । थापा र शर्मा ०७४ मा जित्दा भन्दा धेरै मत ल्याउनु भयो । मतान्तर बढ्दा पूर्वखोला गाउँपालिकाका ६ वटै वडामा एमालेका उम्मेदवार मात्रै विजयी भए ।

पूर्वखोलापछि निस्दी गाउँपालिकामा पनि एमालेले गठबन्धनलाई क्लिनस्वीप गरेको छ । निस्दी पालिकामा भने गठबन्धनबाट कांग्रेसका गोविन्दप्रसाद अर्याल उम्मेदवार हुनुहुन्थ्यो । तर अर्यालले तीन हजार ४६६ मत पाउँदा एमालेका मुक्तबहादुर सारुले ६ हजार ६५२ मत ल्याएर बिजयी बन्नुभएको हो । २०७४ मा पनि एमालेका मुक्तबहादुर नै बिजयी हुनुभएको थियो । उपाध्यक्षमा त माओवादी केन्द्रका रामप्रसाद खत्रीभन्दा एमालेकी तीरनकुमारी श्रेष्ठले झण्डै आठ गुणा बढी मत ल्याएर बिजयी बन्नुभयो । गठबन्धनका उम्मेदवार खत्रीले ८३० मत पाउँदा एमालेकी श्रेष्ठले ६ हजार ६३८ मत पाउनु भयो । यो पालिकामा पनि गठबन्धनका कोही उम्मेदवारले जित्न सकेन ।

त्यसैगरी अन्य पालिकामा पनि एमालेले यसपटक मत बढाएको छ । २०७४ मा कांग्रेसले जितेको माथागढी गाउँपालिकामा यसपटक एमालेका यमबहादुर चिदीले जित्नुभएको छ । गठबन्धनले २०७४ मा अध्यक्ष जितेका सन्तोषकुमार थापालाई नै उम्मेदवार बनाएको थियो । तर कांग्रेसका थापाले पाँच हजार ५५४ मत ल्याउँदा एमालेका चिदीले ६ हजार १०९ मत ल्याएर बिजयी हुनुभयो । २०७४ मा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रँदा थापाले एमालेका विमलप्रसाद काफ्लेभन्दा दुई हजारभन्दा बढी मत ल्याएर बिजयी बन्नुभएको थियो । त्यसबेला थापाले ६,७९९ मतसहित अध्यक्ष जित्दा एमालेका काफ्लेले तीन हजार ८०६ मत ल्याउनु भएको थियो ।

यसपटक भने गठबन्धन हुँदा पनि एमालेले यो पालिका जितेको हो । यस्तै तिनाउ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका नेता राजेश श्रेष्ठलाई हराउँदै एमालेले जितेको छ । माओवादी केन्द्रका राजेशले चार हजार ४६६ मत पाउँदा एमालेका प्रेम श्रेष्ठले पाँच हजार ९० मत ल्याएर बिजयी बन्नुभएको हो । यसअघि पनि यहाँ एमालेले जितेको थियो ।

२०७४ मा कांग्रेसले जितेको रामपुर नगरपालिकामा निवर्तमान मेयर रमणबहादुर थापा विजय हुनुभएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उनी उम्मेदार बन्नुभएको थियो । २०७४ मा कांग्रेसले जितेको अर्को गाउँपालिका बगनासकालीमा पनि एमालेकै सरस्वती दर्लामीले जित्नुभएको छ । यसअघि एमालेले नै जितेको रम्भा गाउँपालिकामा पनि एमालेले जितेको छ । रम्भा गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी ५,५८६ मत ल्याई विजयी हुनुभयो ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै राधाकुमारी श्रेष्ठ ५,७१९ मत सहित विजयी हुनुभयो । गठबन्धनले यसअघि एमालेले जितेको तानसेन नगरपालिका भने खोसेको छ । रैनादेवी छहरा गाउँपालिकामा कांग्रेससँग र रिब्दीकोट गाउँपालिका माओवादी केन्द्रसँग एमाले पराजित भएको छ । ०७४ मा रैनादेवीमा कांग्रेस र रिब्दीकोटमा एमालेले जितेको थियो । योसँगै पाल्पामा एमालेको एकल जिल्ला समन्वय समिति बन्ने भएको छ । १० पालिकाका २० पदमा एमालेले ११ र ८१ वडामध्ये ४३ वटामा आफ्नो जीतको झण्डा फहराएको छ ।