जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार १०:३१

सांसदबाट राजीनामा दिएर मेयरका उम्मेदवार बनेका अधिकांश नेता पराजीत, दुई जनाको जीत (सूचीसहित)


काठमाडौं, जेठ ११ । स्थानीय तहको निर्वाचनमा सांसदबाट राजीनामा दिएर पालिका प्रमुखमा चुननाव लडेका अधिकांश नेतालाई मतदाताले अस्वीकार गरेका छन । एकै ब्यक्तिलाई जहिले पनि अवसर हुन्न भन्ने सन्देशका साथ मतदाताले सकिने बेलामा सांसद छाडेर पालिका प्रमुख ताक्नेहरु सवैलाई अस्वीकार गरी पराजयको स्वाद चखाएका हुन ।

यसपटक सांसदबाट राजीनामा दिएर पालिका प्रमुखमा उम्मेदवार बनेका नेकपा एमालेका चार जना प्रदेश सांसद पराजीत भएका छन । चितवनको भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार बिजय सुवेदी, कास्कीको पोखरा महानगरमा एमाले उम्मेदवार कृष्ण थापा र इलामको सूर्योदय नगरपालिकामा मेयरको उम्मेदवार बन्नुभएका काजीमान कागते पराजीत हुनुभएको छ । बागमति प्रदेश सांसदबाट राजीनामा दिएर काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बन्नुभएका केशव स्थापित पनि पराजीत हुने निश्चित भएको छ । उहाँ धेरै पछि पर्नुभएको छ ।

एमाले मात्रै होइन, सांसद त्यागेर पालिका रोज्ने अन्य दलका उम्मेदवारको पनि अवस्था उस्तै देखिएको छ । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडनुभएका शेख अबुलकलाम आजाद पराजित हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट आजाद रौतहटको गढीमाई नगरपालिकाको मेयरमा चुनाव लडनु भएको थियो । उहाँलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले पराजित गर्नुभएको हो ।

यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले ८ हजार ७३ मत मात्र पाउनुभएको छ । आजाद २०७४ को निर्वाचनमा स्वतन्त्रबाट प्रदेश सांसदमा विजयी हुनुभएको थियो । प्रदेश सांसदबाटै राजीनामा दिएर सर्लाहीको गोडैत नगरपालिकाको मेयरमा चुनाव लडनु भएका नेपाली कांग्रेसका उपेन्द्र कुशवाहा पनि पराजित भइसक्नु भएको छ ।

सांसदबाट राजीनामा दिनुभएका गोपालचन्द्र बुढाथोकी र दिपेश थारु मात्र बिजयी हुनुभएको छ । बुढाथोकी मेचीनगरमा निर्वाचित हुनुभएको हो । यस्तै प्रदेश सांसदबाट राजीनामा दिएर बर्दियाको राजापुर नगरपालिकाको मेयरका उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका दिपेश थारु पनि बिजयी हुनुभएको छ । बुढाथोकी र थारु बाहेक सवै पराजीत हुनुभएको छ । राजनीतिक बिश्लेषकहरुले सांसदको पराजयलाई पार्टीको हार भन्दा पनि एकै ब्यक्तिलाई घरिघरी अवसर भन्ने मतदाताको बिद्रोहको रुपमा बुझेका छन ।