काठमाडौं, जेठ ११ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले मेयरमा बिजय निश्चित भएका स्वतन्त्र उम्मेदवार बालेन साहको भन्दा पनि ६ हजार बढी मत पाउनु भएको छ ।
प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार भन्दा ४१ हजार ३ सय ६४ मतले अग्रता लिनुभएकी उपमेयरकी उम्मेदवार सुनिताले मेयरमा जित्ने निश्चत भएका साह भन्दा ६ हजार ७ सय ३० मत बढी पाउनु भएको हो । यो नतिजासँगै लोकप्रिय मत पाउनेमा सुनिता पहिलो उम्मेदवार बन्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २१ हजार ५ सय १४ मत मात्रै पाउनु भएको छ । यस्तै राप्रपा उम्मेदवारले १० हजार ९ सय ९१ मतका साथ तेस्रो स्थानमा रहेका छन ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५६ हजार १ सय ४८ मत पाउनु भएको छ । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ४ सय ७८ मत पाउनु भएको छ भने नेकपा एमालेका केशव स्थापितले ३४ हजार ५ सय ५४ मत पाउनु भएको छ । काठमाडौंमा राप्रपाका मदनदास श्रेष्ठले ५ हजार २ सय ४६ मत पाउनु भएको छ ।
काठमाडौं महानगरमा अहिलेसम्म १ लाख ७२ हजार २ सय ५५ मत गणना भइसकेको र ६ हजार ७ सय ५६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिम मत परिणाम सार्वजनिक गर्न अहिले १३, १४, १५, १६ र १७ मतगणना भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्